देशभर मनसुन सक्रिय, कोशीदेखि लुम्बिनीसम्म भारी वर्षाको सम्भावना

देशका विभिन्न स्थानमा मनसुनजन्य वर्षा जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी र लुम्बिनी प्रदेशका केही भागमा रातिदेखि वर्षा भइरहेको छ भने पाल्पा, म्याग्दी, लमजुङ र बाँके लगायतका ठाउँहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पछिल्लो ६ घण्टामा पर्वत र बाग्लुङमा सबैभन्दा बढी पानी परेको छ।

महाशाखाका अनुसार आइतबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने र अधिकांश प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ।

सोमबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहने र कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। त्यस्तै, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारीदेखि अत्यधिक भारी वर्षाको सम्भावना रहेको छ।

उच्च पहाडी र हिमाली भू-भागमा पनि प्रभाव देखिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

रातको समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा पनि हुनसक्ने महाशाखाले जनाएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्षको मनसुन अवधिभर देशका धेरै स्थानमा औसतभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ। हाल मनसुन कोशी प्रदेशबाट सुरु भई क्रमशः पश्चिमतर्फ सरेर लुम्बिनी प्रदेशसम्म पुगेको छ। अहिले कोशी, मधेस, बागमती, गण्डकीका केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रमा मनसुनको प्रभाव छ। त्यस्तै, देशको पश्चिम भागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव पनि रहेको जनाइएको छ।

प्रतिक्रिया