ओली–लेखकविरुद्धको जाहेरी प्रहरीलाई फिर्ता

काठमाडौं : जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमै फिर्ता पठाएको छ। बिहीबार आयोगले जारी गरेको विज्ञप्तिमा उक्त मुद्दा फौजदारी प्रकृतिको भएको र त्यसमा विस्तृत अनुसन्धान र अभियोजन गर्ने जिम्मेवारी प्रहरी प्रशासनको भएको स्पष्ट गरिएको छ।

विज्ञप्तिमा भनिएको छ, “फौजदारी वारदातमा विस्तृत अनुसन्धान तहकिकात गरी कसुरदार देखिने अवस्थामा अभियोजन समेत लगाउने कार्य यस आयोगको कार्यक्षेत्रभित्र पर्दैन। यस्तो कारबाहीका लागि आयोगको प्रतिवेदन कुर्न नपर्ने भएकाले प्राप्त जाहेरी निवेदन र कागजात जिल्ला प्रहरी परिसर काठमाडौंमा फिर्ता पठाइएको छ।”

जेनजी आन्दोलनका क्रममा मृत्यु भएका युवाहरूका परिवारले जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिंदै तत्कालीन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ गरी कारबाही गर्न माग गरेका थिए। तर आयोगले उक्त जाहेरी फिर्ता पठाएपछि अब प्रहरीले उनीहरूलाई पक्राउ गर्न सक्ने वा नसक्ने भन्ने विषयमा अन्योल पैदा भएको छ।

यसैबीच, सरकारले पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डका सुरक्षाकर्मी संख्यामा मापदण्डभन्दा बढी भएको भन्दै कटौती गरेको छ। गृहमन्त्रीस्तरीय निर्णयअनुसार ओलीका २७ र प्रचण्डका ३४ जना सुरक्षाकर्मी फिर्ता गराइएको हो।

प्रतिक्रिया