गृहमन्त्री लेखक : गलत भए राजनीतिबाटै टाढा हुन्छु

गृहमन्त्री रमेश लेखकले आफू गृहमन्त्रालयमा कार्यभार सम्हालेयता कुनै गलत कार्य नगरेको दाबी गर्दै गल्ती प्रमाणित भए राजनीतिबाटै टाढा हुने घोषणा गरेका छन्। शनिबार धनुषामा पार्टी कार्यकर्ताहरूसँग छलफल गर्दै मन्त्री लेखकले आफूविरुद्ध उठेका प्रश्नहरूको उचित छानबिन हुने बताए।

उनले भने, "ममाथि उठेका कुरा जाँच हुन्छ। जुन दिन म गृहमन्त्री बनेँ, त्यो दिनदेखि म कुनै गलत कार्यमा संलग्न भएँ भने, म राजनीतिमा देखा पर्दिनँ।"

मन्त्री लेखकले पछिल्ला दिनमा सामाजिक सञ्जालमा आएका प्रतिक्रियाको विषयमा प्रतिक्रिया दिँदै आफूले जानबुझेर केही समय चुप बसेको उल्लेख गरे। “के-के लेखिए, म बुझिरहेँ। अब म काठमाडौं फर्किएपछि विज्ञप्ति निकाल्छु। केही दिनमै बोलेर पनि स्पष्टीकरण दिन्छु,” उनले भने।

उनले आफूले जीवनभरि पार्टी र कार्यकर्तालाई सम्मान गरेको र कसैलाई निहुराउनु नपर्ने कार्य नगरेको पनि स्पष्ट पारे।

अध्यागमन कार्यालयमा कर्मचारीहरूले बिचौलियाको सेटिङमा मोटो रकम लिई मानिसलाई भिजिट भिसामा विदेश पठाउन सहजीकरण गरेको विषयमा अख्तियारले अनुसन्धान थालेपछि गृह मन्त्रालयले व्यापक सरूवा गरेको हो।

गत बिहीबार गृह मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयबाट ८ जनालाई सरूवा गरेको थियो। सरूवा गरिएका प्रमुख कर्मचारीहरूमध्ये केही निम्नानुसार छन्:

  • प्रेमप्रसाद पौडेल, वीरभद्र जोशी: काठमाडौं जिल्ला प्रशासन कार्यालयमा सरूवा

  • नरबहादुर थापा: बाँके जिल्ला प्रशासन कार्यालयमा सरूवा

  • कमला श्रेष्ठ, उदेन सुवेदी, प्रदीपकुमार यादव, पवन गुरूङ, धनराज उपाध्याय: कारागार व्यवस्थापन विभागमा सरूवा

यसअघि नै अध्यागमन विभागका प्रमुख तीर्थराज भट्टराईको जिम्मेवारी खोसेर गृह मन्त्रालयमा तानिएको थियो। अहिलेसम्म गृहले अध्यागमन विभागबाट १५ जना कर्मचारीको सरूवा गरिसकेको छ। गृह मन्त्रालयको यो कदम भ्रष्टाचार नियन्त्रणका लागि चालेको स्पष्ट संकेतको रूपमा लिइएको छ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय