काठमाडौं। नेपाल आयल निगमले स्थापना भएको ५४ वर्षपछि वार्षिक नाफा १० अर्ब रुपैयाँमाथि पुर्याएको छ। आर्थिक वर्ष २०८०/८१ मा निगमले सोही बराबरको मुनाफा आर्जन गरेको हो। यससँगै नेपाल सरकारलाई नाफा दिने संस्थानहरूको सूचीमा निगम पनि थपिएको छ।
निगमले शुक्रबार आफ्नै ५५औँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ। २०२७ सालमा स्थापना भएको यस सरकारी स्वामित्वको संस्थाले इन्धन तथा ग्यासको बिक्री वितरण गर्दै आएको छ। स्वचालित मूल्य प्रणाली लागू भएपछि निरन्तर घाटामा गइरहेको निगमको अवस्था सुधारिएको हो। हाल प्रत्येक पन्ध्र दिनमा भारतीय आयल निगमको मूल्य सूचीका आधारमा नेपालमा पनि मूल्य समायोजन हुँदै आएको छ।
वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले इन्धन व्यापार निरन्तर घट्दो क्रममा रहेको भन्दै यसको विकल्प खोज्न निगमलाई निर्देशन दिनुभयो। उहाँले निगमले आम जनतामाझ राम्रो छवि बनाउन नसकेको टिप्पणी गर्दै विगत ५ दशकदेखि एउटै काममा सीमित रहेको बताउनुभयो। मन्त्री भण्डारीले निगमलाई दीर्घकालीन टिकाउ बनाउन नयाँ कार्ययोजना अघि सार्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
उहाँले विद्युतीय सवारी साधनतर्फ नेपाल अगाडि बढिरहेको उल्लेख गर्दै इन्धन तथा ग्यासको अन्य विकल्पको खोजी गर्नुपर्नेमा जोड दिनुभयो। जोखिमयुक्त स्थानमा रहेका डिपोहरूलाई सार्ने काममा प्रगति सन्तोषजनक नभएको र ग्यासमा दिइँदै आएको अनुदानलाई व्यवस्थित गर्नुपर्ने धारणा पनि व्यक्त गर्नुभयो।
कार्यक्रममा निगमका कार्यकारी निर्देशक डा. चण्डिका प्रसाद भट्टले विगतका चुनौतीहरूको सामना गर्दै निगमले यो उचाइमा पुगेको बताउनुभयो। २०७१ सालदेखि स्वचालित मूल्य प्रणाली लागू भएसँगै आर्थिक स्थिति सुधार हुनुका साथै मूल्यवृद्धिको विरोधमा हुने आन्दोलन पनि रोकिएको उहाँले बताउनुभयो।
भट्टका अनुसार अमलेखगञ्जमा पाइपलाइनमार्फत इन्धन ढुवानी गर्दा प्रतिलिटर ३ रुपैयाँ बचत भएको छ। झापा, भैरहवा, र चितवनमा भण्डारगृह निर्माण कार्य अगाडि बढिरहेको र सिनामंगल, धनगढीलगायत स्थानमा भण्डारण गृह निर्माण छिट्टै सुरु हुने जानकारी पनि दिनुभयो। साथै, ग्यास आपूर्ति पाइपलाइनमार्फत गर्ने योजना अध्ययनको चरणमा रहेको बताउनुभयो।
५५औँ वार्षिकोत्सवका अवसरमा नायब कार्यकारी निर्देशक इन्जिनियर वीरेंद्र गोईतलाई ५० हजार रुपैयाँ राशिको "सुवर्ण सर्वोत्कृष्ट कर्मचारी सम्मान" प्रदान गरिएको छ। इन्धन भण्डारण, पाइपलाइन परियोजना, र भारतको सहकार्यमा निर्माण भइरहेका भण्डारण गृहको सम्झौतामा गोईतको महत्वपूर्ण भूमिका रहेको छ।
यस अवसरमा २५ हजार रुपैयाँ राशिको "उत्कृष्ट कर्मचारी सम्मान" राजेश शिलवाल, भैरव रावल, रुपेश कुमार शाह, डिल्ली बहादुर डिसी, र छोटु पण्डितलाई प्रदान गरिएको छ।