काठमाडौं – नेपाली बजारमा अमेरिकी डलरको मूल्यले पुनः नयाँ रेकर्ड कायम गरेको छ। यो लगातार चौथो दिन डलरले नयाँ उचाइ बनाएको हो। सन् २०२५ को प्रारम्भदेखि डलरले दैनिक रूपमा रेकर्ड तोड्दै आएको छ।
नेपाल राष्ट्र बैंकले पुस २० गतेका लागि अमेरिकी डलरको बिक्री दर १३७ रुपैयाँ ५४ पैसा र खरिद दर १३६ रुपैयाँ ९४ पैसा निर्धारण गरेको छ। यसले अघिल्लो दिन पुस १९ गतेको रेकर्डलाई तोड्दै डलरको मूल्यलाई नयाँ शिखरमा पुर्याएको हो।
भारतीय रुपैयाँ अमेरिकी डलरको तुलनामा कमजोर बन्दा त्यसको प्रभाव नेपाली रुपैयाँमा पनि परेको छ। नेपाली रुपैयाँ भारतीय रुपैयाँसँग स्थिर विनिमय दरमा रहेको कारण भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि प्रभावित भएको छ।
डलरको मूल्यवृद्धिले आयात महँगो बनाउँछ, जसका कारण आयातको भुक्तानीका लागि थप रकम तिर्नुपर्ने हुन्छ। विदेशी दातृ निकायसँगको ऋणको भारसमेत बढ्ने देखिन्छ।
यद्यपि, डलरको मूल्यवृद्धिले पर्यटन क्षेत्र, निकासी गर्ने व्यापारी, र विदेशबाट रेमिट्यान्स पठाउनेलाई केही फाइदा पुर्याउँछ। तर, आयातको हिस्सा ठूलो भएकाले डलर महँगिदा समग्र अर्थतन्त्रलाई फाइदाभन्दा बेफाइदा बढी हुने विश्लेषकहरूको धारणा छ।