गुल्मी । सञ्चारकर्मी तथा सर्जक बासुदेव पोखरेलको शब्द सिर्जनामा तयार भएको नयाँ मौलिक तीज गीत ‘रेलिमै घुमौँला फिरम्ला’ सार्वजनिक भएको छ।
नेपाली मौलिक तीज संस्कृति, लोकपरम्परा र पर्यटन प्रवर्द्धनलाई एउटै सांगीतिक यात्रामा जोड्ने उद्देश्यले गीत तयार गरिएको हो। रमेशराज भण्डारी, खुमन अधिकारी र अपेक्षा गिरीको स्वर रहेको गीतमा बासुदेव पोखरेलको शब्द तथा रमेशराज भण्डारीको लय सिर्जना रहेको छ।
तीज गीतलाई मनोरञ्जनमा मात्रै सीमित नराखी नेपालको प्राकृतिक, धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको प्रचार–प्रसार गर्ने उद्देश्यले गीत तयार गरिएको सर्जकहरूले बताएका छन्।
गीतका शब्दमा गुल्मीको रेसुङ्गा, धुर्कोट दरबार, बागलुङको कालिका र ढोरपाटन, बुटवलको फूलबारी, पोखरा, चितवन, इलाम र काठमाडौंलगायत देशका प्रमुख पर्यटकीय गन्तव्यलाई समेटिएको छ।
‘घुमौँला, फिरौँला र नेपाल चिनौँला’ भन्ने भावमार्फत आन्तरिक पर्यटन प्रवर्द्धनसँगै नेपाली मौलिक संस्कृति र पहिचानलाई थप सशक्त बनाउने प्रयास गीतमा गरिएको छ।
गीतको भिडियो निर्देशन निशान बानियाँले गरेका हुन्। भिडियोमा ममता राना मगर, कैलाश कठायत, गङ्गा बोहोरा र सन्तोष थापालगायत कलाकारको अभिनय रहेको छ। भिडियोको सम्पादन सुजन कोइरालाले गरेका छन्।
सञ्चारकर्मीका रूपमा सक्रिय रहँदै आएका बासुदेव पोखरेलले पछिल्लो समय मौलिक नेपाली गीत–संगीतमार्फत समाज, संस्कृति र पर्यटनलाई जोड्ने सिर्जनालाई निरन्तरता दिँदै आएका छन्। ‘रेलिमै घुमौँला फिरम्ला’ पनि त्यही अभियानको निरन्तरता भएको निर्माण पक्षले जनाएको छ।
सार्वजनिक भएसँगै गीतले युट्युब तथा सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाउन थालेको छ। तीज पर्वको अवसरमा नेपाली मौलिकता, पर्यटन र सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्ने अपेक्षासहित गीत सार्वजनिक गरिएको निर्माण पक्षले जनाएको छ।