केबलकार निर्माण विवाद – सरकारले आन्दोलनरत पक्षलाई वार्तामा बोलायो

काठमाडौं। ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मा निर्माणाधीन केबलकारको विरोधमा रहेका ‘नो केबलकार समूह’ लाई सरकारले वार्तामा बोलाएको छ। सरकारले गठन गरेको वार्ता टोलीका संयोजक गृहमन्त्रालयका सह-सचिव प्रेमप्रसाद भट्टराईले सोमबार एक विज्ञप्ति जारी गरी आन्दोलनरत पक्षलाई वार्तामा सहभागी हुन आग्रह गरेका छन्।

विज्ञप्तिमा उल्लेख गरिए अनुसार, आन्दोलनरत पक्षले उठाएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्याहरू वार्ताबाटै समाधान गर्ने र केबलकार निर्माण कार्य तत्कालका लागि स्थगित गर्ने सरकारको प्रतिबद्धता रहेको छ। सरकारले शान्तिपूर्ण संवादबाट समाधान निकाल्न आन्दोलनरत पक्षलाई वार्तामा सहभागी हुन अनुरोध गरेको छ।

यसअघि माघ २२ गते बसेको दुई पक्षीय वार्तामा केबलकार निर्माण कार्य तत्कालका लागि स्थगित गर्ने र माघ २७ गते दोस्रो चरणको उच्चस्तरीय राजनीतिक वार्ता गर्ने लगायत ६ बुँदे सहमति भएको थियो। तर आन्दोलनरत पक्षले सरकारी वार्ता टोलीसँग वार्ता नगरी राजनीतिक टोलीसँग मात्र वार्ता गर्ने माग राख्दै वार्ता बहिष्कार गरेका थिए।

पाथीभरामा केबलकार निर्माण विषयमा माघ १२ गते प्रहरी र नो केबलकार समूहबीच झडप भएपछि सिर्जना भएको विवाद एक महिना पुग्दासम्म समाधान हुन सकेको छैन। यो विवादले सडकदेखि संसदसम्म बहस सिर्जना गरेको छ।

प्रतिक्रिया