काठमाडौंँ - सुपर मादी हाइड्रोपावर लिमिटेडले मंसिर २० गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिने आज (पुस ५ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले सोही दिनदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिन म्याद भने थप गरेको छ।स्थानिय बासिन्दाले कम्पनीको आईपीओमा पुस २० गतेसम्म आवेदन दिन सक्नेछन्। यद्यपि, मागभन्दा बढी आवेदन प्राप्त भएमा सो अगावै निष्काशन तथा बिक्री बन्द गर्ने कम्पनीले जनाएको छ।
कम्पनीले जारी पूँजीको १५ प्रतिशत अथार्त ३१ करोड ५० लाख रुपैयाँ बराबरको ३१ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको हो। सोमध्ये आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. १ र २ का स्थानीय बासिन्दाहरुको लागि ३ लाख १५ हजार कित्ता, आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाका अन्य वडा नं ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका वडा नं. २६, २७ र २८ का स्थानीय बासिन्दाहरुको लागि ७ लाख ३५ हजार कित्ता निष्काशन गरेको हो।
त्यसैगरी, कम्पनीले सर्वसाधारणलाई निष्काशन हुने २१ लाख कित्ताको १० प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गरेको हो।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपी आईआर डबल बी रेटिङ्ग प्रदान गरको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले एनसीसी बैंक, कुमारी बैंक, माछापुच्छ्रे बैंक, सानिमा बैंकका तोकिएका शाखा कार्यालय र आयोजना स्थलबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारमा रहेका नेपालीहरुले भने नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन्।
यस कम्पनीले कास्की जिल्लाको मादी गाउँपालिकाको सिमाना भएर बग्ने मादी नदीको बहाव सदुपयोग हुने गरी ४४ मेगावाट क्षमताको सुपार मादी जलविद्युत आयोजना निर्माण गरिरहेको छ। यस आयोजनाको अनुमानित लागत ८ अर्ब ३५ करोड रुपैयाँ रहेको छ। कम्पनीले २०७८ जेठ २८ गतेदेखि व्यवसासिक उत्पादन सुरु गर्ने लक्ष्य लिएको थियो।
यद्यपि, कोभिड र बाढी पहिरोका कारण सो सफल हुन नसकेको कम्पनीले बताएको छ। कम्पनीले २०७३ चैत १७ गते विद्युत उत्पादन गर्ने अनुमति प्राप्त गरेको थियो। आयोजनाको साधारण लगानी फिर्ता हुने अवधि ६.२८ वर्ष रहेको छ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि ११.१० वर्ष रहेको छ।