काठमाडौं। बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार पैसा खिच्न थालेको छ। केन्द्रीय बैंकले आज निक्षेप संकलन उपकरणमार्फत बैंकिङ प्रणालीबाट थप ३० अर्ब रुपैयाँ खिच्न लागेको हो।
राष्ट्र बैंकले निक्षेप संकलनका लागि आज बोलकबोल आह्वान गरेको छ। बोलकबोल ब्याजदरमा हुनेछ भने सहभागी बैंक तथा वित्तीय संस्थाले ब्याजदरसमेत प्रस्ताव गर्न सक्नेछन्।
निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। इच्छुक संस्थाले आज अपराह्न ३ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोलमा सहभागी हुनुपर्नेछ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम आह्वान गरिएको ३० अर्ब रुपैयाँसम्म बोलकबोल गर्न सक्नेछन्। बोलकबोल रकम १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने हुनुपर्ने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकका अनुसार यो निक्षेप संकलन उपकरण २८ दिन अवधिको हुनेछ। यसअन्तर्गत संकलन गरिएको रकमको साँवा तथा ब्याज आगामी कात्तिक १८ गते भुक्तानी गरिनेछ।
बैंकिङ प्रणालीमा कर्जा प्रवाहको तुलनामा निक्षेप तथा तरलता बढी भएपछि राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत अतिरिक्त रकम प्रणालीबाट खिच्दै आएको छ।