बझाङको साइपाल गाउँपालिकामा वाणिज्य बैंकको शाखा पुगेसँगै नेपालका सबै ७५३ वटै स्थानीय तहमा वित्तीय सेवा पुगेको छ। एभरेष्ट बैंक लिमिटेडले साइपाल गाउँपालिकामा आफ्नो शाखा स्थापना गरेको हो, जसको उद्घाटन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गरेका छन्।
गभर्नर अधिकारी हेलिकप्टरमार्फत साइपाल पुगेर शाखाको उद्घाटन गरेका थिए। कार्यक्रममा एभरेष्ट बैंकका अध्यक्ष बालगोपाल बैद्य, प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ लगायतको उपस्थिति रहेको थियो। स्थानीयवासीले बाजागाजा सहित स्वागत गर्दै बैंक शाखा स्थापनाप्रति खुसी व्यक्त गरेका थिए।
भौगोलिक कठिनाइका कारण साइपाल गाउँपालिकामा अहिलेसम्म कुनै पनि वाणिज्य बैंकको शाखा थिएन। बैंक स्थापना गर्न गत जेठमा नेपाल राष्ट्र बैंकमा छलफल भएको थियो, जसमा गभर्नर अधिकारी, गाउँपालिकाका अध्यक्ष मानवीर बोहरा र एभरेष्ट बैंकका प्रतिनिधिहरू सहभागी थिए। लामो प्रयासपछि साइपालमा बैंक शाखा स्थापना भएसँगै स्थानीयवासीलाई वित्तीय सेवामा सहज पहुँच हुने अपेक्षा गरिएको छ।