काठमाडौं – भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार, सिंहको बिहीबार राति भारतीय समयअनुसार करिब पौने १० बजे दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स) मा उपचारका क्रममा निधन भएको हो।
डा. सिंह सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतका प्रधानमन्त्री बनेका थिए। उनी भारतको आधुनिक अर्थतन्त्रका योजनाकारका रूपमा परिचित छन्। अर्थशास्त्री तथा विद्वानका रूपमा ख्याति कमाएका सिंहले भारतीय अर्थतन्त्रको सुधारमा महत्वपूर्ण योगदान दिएका थिए।
मनमोहन सिंह सन् १९९१ देखि १९९६ सम्म पिभी नरसिंह रावको नेतृत्वको सरकारले अर्थमन्त्रीको भूमिका निर्वाह गरेका थिए। उनको नेतृत्वमा भारतीय अर्थतन्त्रले उदारीकरण र आर्थिक सुधारको मार्ग अंगालेको थियो। त्यही समयलाई भारतीय अर्थतन्त्रको कायापलटको युग मानिन्छ।
प्रधानमन्त्रीको रूपमा सिंहले राष्ट्रिय ग्रामीण रोजगारी सुरक्षा ऐन जस्ता सामाजिक सुधारका कार्यक्रम सञ्चालन गरे, जुन अहिले पनि प्रभावकारी छन्। साथै, २००८ को विश्वव्यापी आर्थिक मन्दीका बेला भारतलाई मन्दीको चपेटाबाट जोगाउन उनको नीतिले ठूलो भूमिका खेलेको थियो।
अक्सफोर्ड विश्वविद्यालयबाट डी. फिल. गरेका सिंहले राजनीति अघि शिक्षण क्षेत्रमा काम गरेका थिए। राजनीतिमा प्रवेश गरेपछि पनि उनी आफ्नो विद्वत्तापूर्ण व्यक्तित्वका लागि परिचित रहे।
उनको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न शीर्ष नेताहरूले शोक व्यक्त गरेका छन्। काँग्रेस नेतृ सोनिया गान्धीले समेत अस्पताल पुगेर सिंहलाई अन्तिम श्रद्धाञ्जलि अर्पण गरेकी थिइन्।
डा. सिंहको निधनले भारतले एक विद्वान, दूरदर्शी नेता र अर्थतन्त्र सुधारका नायकलाई गुमाएको छ।