काठमाडौं - प्राथमिक सेयरमा लगानीकर्ताको आकर्षण फेरि बढेको पछिल्लो समय सार्वजनिक भएका आइपीओ मा परेको आवेदनले जनाएको छ ।
यसै बीचसर्वोत्तम सिमेन्टले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई खुला गरेको आइपीओमा हालसम्म मागभन्दा ६.३४ गुणा बढी आवेदन परेको छ । कम्पनीले बुक विल्डिङ विधिबाट पुस २५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि २ लाख ६७ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । जसमा शुक्रबार (माघ ५ गते) साँझ ५ः०६ बजेसम्ममा १६ लाख ९१ हजार ७१० कित्ताका लागि आवेदन परेको हो ।उक्त आवेदन मागभन्दा ६.३४ गुणा बढी हो ।
कुल २५ हजार ८३९ जना आवेदकले ६१ करोड ५ लाख ३८ हजार १३९ रुपैयाँ बराबरको आवेदन दिएका हुन् । सर्वोत्तमले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आइपीओ खुला गरेको हो ।
यस आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । माघ १० गतेसम्म आवेदन दिने समय रहेको छ ।
सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ भने सह निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइएमबी एस क्यापिटल र प्रभु क्यापिटल रहेका छन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।
इक्रा नेपालले सर्वोत्तमलाई वित्तीय दायित्व वहन गर्न मध्यम स्तरको क्षमता रहेको जनाउने ‘इक्राएनपी इस्युअर रेटिङ ट्रिपल बी’ प्रदान गरेको छ ।