आइएमई समूहको लगानीमा कैलालीको चिसापानीमा जालपादेवी केवलकार निर्माण हुने, परराष्ट्र मन्त्री राणाद्वारा शिलान्यास

सुदूरपश्चिम प्रदेशको पर्यटन विकासमा ऐतिहासिक कदम स्वरूप जालपादेवी केबलकार परियोजनाको शिलान्यास गरिएको छ। कर्णाली चिसापानीमा आयोजित समारोहमा प्रमुख अतिथि परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, विशिष्ट अतिथिहरू उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे, वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही, र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहसहित अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो।

आईएमई समूहले अघि बढाएको यो परियोजना सातवटै प्रदेशमा केबलकार, होटल तथा रिसोर्ट निर्माण गर्ने लक्ष्यको एक हिस्सा हो। यसअघि समूहले चन्द्रागिरि, मौलाकाली, बुटवल, र पाथीभरामा यस्ता परियोजना सम्पन्न गर्दै उल्लेखनीय सफलता हात पारेको छ। चन्द्रागिरिमा सञ्चालनमा आएको केबलकारले ५ सयभन्दा बढी रोजगारी सिर्जना गर्दै आर्थिक क्रियाकलापमा अभूतपूर्व वृद्धि गरेको छ।


सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार मानिने चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारले साहसिक, धार्मिक र मनोरञ्जन पर्यटनलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ। यस क्षेत्रका रामारोशन, बडीमालिका, खप्तड र शुक्लाफाँट जस्ता गन्तव्यलाई यसले थप आकर्षण प्रदान गर्ने विश्वास छ।

पर्यटनमन्त्री बद्री पाण्डेका अनुसार परियोजनाले कर्णाली नदीमा जल पर्यटन, र्‍याफ्टिङ, प्याराग्लाइडिङ, ट्रेकिङ, र जंगल सफारीजस्ता गतिविधिहरूलाई समेत सहयोग गर्नेछ। यसले सुदूरपश्चिम क्षेत्रको आर्थिक, सामाजिक, र सांस्कृतिक विकासमा ठोस योगदान पुर्‍याउनेछ।


आईएमई समूहका प्रतिनिधिले प्रदेश र स्थानीय तहसँगको साझेदारीमा परियोजना अगाडि बढाएको जानकारी दिए। निजी क्षेत्रको लगानीबाट निर्माण हुने यस्ता पूर्वाधारहरूले नेपालमा विदेशी पर्यटकको बसाइ र खर्च बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ।


कर्णाली चिसापानी सुदूरपश्चिम, लुम्बिनी, र कर्णाली प्रदेशको संगमस्थल हो। यहाँ डल्फिन अवलोकन, धार्मिक महत्व, र साहसिक पर्यटनले नयाँ गन्तव्यको रूप लिनेछ। भारतीय सीमाबाट नजिक रहेको यस क्षेत्रले भारतीय पर्यटकलाई आकर्षित गर्दै स्थानीय व्यवसाय र रोजगारीमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

पर्यटन विकास र पूर्वाधार विस्तारमा सरकारको नीतिगत सहजीकरणले मात्र स्वदेशी तथा विदेशी लगानी भित्र्याउने र दीर्घकालीन आर्थिक समृद्धि ल्याउनेमा कार्यक्रमका वक्ताहरूले जोड दिए।


जालपादेवी केबलकार परियोजना सुदूरपश्चिम पर्यटन प्रवर्द्धनका लागि कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ। यो परियोजनाले स्थानीय जनताको जीवनस्तर सुधार्दै, रोजगारी सिर्जना गर्दै, र प्रदेशको आर्थिक गतिविधिमा व्यापक वृद्धि गर्नेछ।

निजी क्षेत्रको पहलमा सुरु गरिएको यो परियोजनाले पर्यटन क्षेत्रबाट आर्थिक परिवर्तनको सम्भावना झल्काएको छ। केबलकार परियोजनाले सुदूरपश्चिममा पर्यटन विकासको नयाँ अध्याय सुरु गर्ने विश्वास गरिन्छ।

प्रतिक्रिया