काठमाडौं – लगातार दुई दिनको उकालो यात्रापछि नेपाली सेयर बजारमा आज पुनः गिरावट आएको छ। बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १२.०१ अंकले घट्दै ०.४५ प्रतिशतले ओरालो लागेर २६६१.६४ विन्दुमा पुगेको हो।
सेयर सूचक घट्दा पनि आजको कारोबार रकममा भने उल्लेख्य वृद्धि देखिएको छ। कुल ३ करोड ७ लाख ९९ हजार ९१ कित्ता सेयर खरिदबिक्री भई ११ अर्ब ६५ करोड १७ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
आज ३१५ वटा कम्पनीको सेयर कारोबार भयो। ९६ कम्पनीको सेयर मूल्य बढ्दा १५० कम्पनीको घट्यो। कुनै कम्पनीको मूल्य स्थिर भने देखिएन। कूल १ लाख ३ हजार ३१९ पटक कारोबार भएको थियो।
समूहगत उपसूचक हेर्दा, फाइनान्स समूहमा सबैभन्दा धेरै ४.३० प्रतिशतको वृद्धि देखिएको छ। जीवन बीमा समूह भने ०.०१ प्रतिशतले मात्र उकालो लाग्यो। कुल ५ वटा समूह हरियालीमा रहँदा बाँकी ८ समूह राताम्मे बने।