काठमाण्डौ - लगातारको तीन दिनको विदापछि शेयर बाजार सोमबारबाट खुल्दै छ । बिहीबार बन्द भएको शेयर बजार शुक्रबार,शनिबार र आइतबार बन्द भएको थियो ।
गत साता शेयर बजारको लागि त्यति सुखद रहन सकेन । सातै भरी बिक्री चापको कारण नेप्से दबाबमा रह्यो । त्यसमाथि अर्थमन्त्रीले एक कार्यक्रममा दिएको भनाइलाई समेत शेयर बजार प्रति सम्बन्धित निकाय नै सचेत छैनन् भन्ने देखाउँछ ।
बजार दबाबमा पर्नुका केही कारण यस्ता छन् -
कोरोना महामारीको बेला शेयर बजारमा व्यापक विस्तार भयो । दैनिक शेयर कारोबार गर्ने संख्या १ लाख बाट बढेर ९ लाख माथि पुग्यो । जसले गर्दा नेप्सेले पनि नयाँ उचाइ लियो । दैनिक २० अर्ब माथिको कारोबार भएको शेयर बजारले ३२ सय विन्दु छोयो ।
आफ्नो गतिमा अगाडि बढिरहेको शेयर बजारलाई नेपाल धितोपत्र बोर्डको ५१ कम्पनीको लिष्टले शेयर बजारलाई खुम्च्याउन मद्धत गर्यो ।
त्यस्तै लगत्तै बैंक तथा वित्तीय संस्थाले अन्य वित्तीय क्षेत्रमा लगानी रोक लगायो जसले शेयर बजारलाई सामान्य असर गर्यो ।
केही दबाबमा रहेको नेप्सेलाई राष्ट्र बैंकको मौद्रिक नीति मार्फत शेयर धितो कर्जामा कडाइ गरेपछि ठूला लगानीकर्ताले बिक्री चाप बढाउँदा शेयर बजार झन् दबाबमा पर्यो । साथै बैंकहरुले बचतमा ब्याजदर बढाएपछि पनि लगानीकर्ता शेयर बजारसँग केही डराएको देखिन्छ ।
आजदेखि शेयर बजार कता ?
निरन्तर बजार ओरालो लागे पनि अब भने लगानीकर्ताले मनोबल उच्च बनाएका छन् त्यही कारणले पनि शेयर बजार अब माथि जाने धेरैको विश्वास छ ।
यस क्षेत्रको विस्तार भएको साथै बजार एउटा निश्चित विन्दु सम्म झरिसकेको हुँदा अब बजार यो भन्दा धेरै तल झर्ने ठाउँ नरहेको जानकारहरु बताउँछन् ।
लगानीकर्ताको यही विश्वासले आजको बजारको मापक निर्धारण गर्ने छ । ठूला लगानीकर्ताले हात झिके पनि अब सानाको स्वामित्व बढेको हुँदा शेयर बजार माथि जाने अनुमान गर्न सकिन्छ ।