काठमाडौं । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै यस वर्षको छठ पर्व आज सम्पन्न भएको छ। कात्तिक शुक्ल चौथीदेखि सुरु भएको चारदिने छठ पर्वको अन्तिम दिन आज बिहान व्रतालुले उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै पर्व सम्पन्न गरेका हुन्।
महोत्तरीसहित तराई–मधेशका विभिन्न जिल्लामा बिहानैदेखि छठ घाटमा श्रद्धालुको भीड लागेको थियो। सूर्योदयसँगै व्रतालुले जलाशयमा उभिएर सूर्यदेवलाई अर्घ्य अर्पण गरेका थिए। यसअघि आइतबार साँझ षष्ठी तिथिका दिन व्रतालुले अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिएका थिए।
सूर्य उपासनाको पर्व सम्पन्न भएसँगै व्रतालु छठ घाटबाट घर फर्किएका छन्। घर फर्किएपछि उनीहरूले दीनदुःखी तथा आशामुखीलाई अन्न र वस्त्र दान गरी प्रसाद ग्रहण गर्ने परम्परा छ। यससँगै छठको प्रसाद खाने र खुवाउने क्रम सुरु हुन्छ।
छठ पर्व चौथीका दिन पवित्र स्नान गरी चोखोनीतो खाएर व्रतको सङ्कल्प गर्ने ‘नहाय–खाय’ विधिबाट सुरु हुन्छ। पञ्चमीका दिन राति एक छाक मात्र अलिनो भोजन गरेर ‘खरना’ विधि सम्पन्न गरिन्छ। षष्ठीका दिन साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिने विधिलाई मिथिलामा ‘सझियाघाट’ वा ‘सझुका अरख’ भनिन्छ। सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर पर्व समापन गर्ने विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ।
छठमा सूर्यदेवलाई ठकुवा, भुसुवा, केरा, अन्य फलफूल तथा माटाका भाँडामा जमाइएको दहीलगायतका परिकार चढाइन्छ। यिनै सामग्रीलाई प्रसादका रूपमा ग्रहण गर्ने र आफन्त तथा इष्टमित्रलाई वितरण गर्ने चलन छ।
मिथिलामा छठको प्रसाद छोरीचेली, फुपू, मित तथा अन्य आफन्तकहाँ ‘भार’ (सोली) बनाएर पठाउने परम्परा छ। प्रसाद खाने र खुवाउने क्रम पर्व सम्पन्न भएपछि पनि लामो समयसम्म चलिरहन्छ।
छठ पर्वको व्रत तथा सूर्य उपासनाबाट सुख, शान्ति र समृद्धि प्राप्त हुने तथा रोगव्याधिबाट मुक्ति मिल्ने धार्मिक जनविश्वास रहेको छ।