• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

लगानी गर्ने हैन त ? आउँदो हप्ता पनि आईपीओ आउँदै,कति कित्ता सार्वजनिक हुँदै छ ?

काठमाण्डौं– पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढिरहेका बेला एक जलविद्युत् कम्पनीले प्राथमिक शेयर (आईपीओ) ल्याउने भएको छ ।

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले यही वैशाख २१ गतेदेखि आयोजना प्रभावित र सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रका बासिन्दालाई आईपीओ निष्कासन गर्ने भएको भएको छ ।

कम्पनीले गत वैशाख ५ गते नेपाल धितोपत्र बोर्डबाट कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासनको अनुमति पाएको थियो । सोहीअनुसार पहिलो चरणमा कम्पनीले प्रतिसेयर १०० अंकित दरका कुल ६० लाख कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो । निष्काशन गरिने कुल कित्तामध्ये ३० प्रतिशत अर्थात १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं. १ र ५, बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुका लागि छुट्याइएको छ। बाँकी ७० प्रतिशत अर्थात ४२ लाख कित्तामा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुले आवेदन दिन पाउनेछन् । बाँकी ९० लाख कित्ता भने कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्नेछ ।

पहिलो चरणको आईपीओ निष्कासन बन्द छिटोमा जेठ ४ गते हुनेछ भने ढिलोमा जेठ २० गते हुनेछ। यो आईपीओमा ग्लोबल आइएमई बैंक, लक्ष्मी बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सिन्धु विकास बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सिभिल बैंक, प्रभु बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, बैंक अफ काठमाण्डू र एनआईसी एसिया बैंकका सिन्धुपाल्चोक शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनपर्नेछ भने अधिकतममा ४०० कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

यो कम्पनीलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी इस्युअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।
कम्पनी आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल रहेको छ।

प्रतिक्रिया