१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क

काठमाडौँ — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने निर्णय गरेका छन्। आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै, कान्ति बाल अस्पताल काठमाडौँ, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर, र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यो सेवा निःशुल्क उपलब्ध गराइनेछ।

मन्त्री पौडेलको सचिवालयका अनुसार मङ्सिर १ गतेदेखि लागू हुने यो निर्णय अन्तर्गत बालबालिकाको क्यान्सर उपचार निःशुल्क हुनेछ। क्यान्सर उपचार महँगो हुने भएकाले, राज्यको सामर्थ्यका आधारमा यो सुविधा उपलब्ध गराउने मन्त्रालयको नीति रहेको छ। मन्त्री पौडेलले पदबहाल गरेपछि बालबालिकाको क्यान्सर उपचार निःशुल्क बनाउन पहल थालेको र हाल यो सेवा सुरु गर्न लागिएको मन्त्रालयले जनाएको छ।

नेपालमा ७१ प्रतिशत मृत्यु नसर्ने रोगबाट हुने गरेको छ, जसमा ११ प्रतिशत क्यान्सरका कारण हुने गर्दछ। सन् २०२२ मा २२ हजार नयाँ क्यान्सर बिरामी देखिएमा, १४ हजारले ज्यान गुमाएका थिए। प्रत्येक वर्ष नेपालमा करिब १५ सय बालबालिकामा क्यान्सर देखिने गरेको छ। आर्थिक अभावमा उपचार नपाउँदा मृत्युको जोखिम बढ्ने भएकाले बालबालिकाको उपचार निःशुल्क गर्ने निर्णय गरिएको मन्त्री पौडेलले बताए।

सरकारले व्यक्तिलाई उपचारका लागि दिने रकम अपुग भएमा, मन्त्रालयको आन्तरिक स्रोतबाट थप व्यवस्थापन गरिने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिएका छन्।

प्रतिक्रिया