काठमाण्डौ – नागरिक लगानी कोषले फागुन २१ गते शुक्रबारदेखि लिलामीमा राखेको साढे ३ लाख कित्ता सर्वसाधारण समूहको शेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ।
कोषले हकप्रदमा बिक्री नभएको सर्वसाधारण समूहको ३ लाख ५४ हजार १५० कित्ता शेयर लिलामीमा राखेको हो । यसबाट कोषले न्यूनतम ३ करोड ५४ लाख १५ हजार प्रिमियम संकलन गर्नेछ । अहिले दोस्रो बजारमा कम्पनीको शेयर मूल्य ४ हजार १२० रुपैयाँ छ।
कम्पनीको निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
लगानीकर्ताहरुले आरबिबि मर्चेण्ट बैंकिङ्ग लिमिटेड, टेकु, काठमाडौँ, नागरिक लगानी कोष, नयाँ बानेश्वर, काठमाडौं तथा शाखा कार्यालयहरू मोरङ र कास्की तथा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
कोषले गत पुस २८ गते मंगलबार देखि माघ १९ गतेसम्म ८२ प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो । सो बेला बिक्री नभएको शेयर हाल लिलामी बिक्री गर्न लागिएको हो ।