‘सदस्य र सांसद जोगाउन’ नेता नेपाल चन्द्रागिरिमा


काठमाडौँ — एमालेबाट फुटेर नयाँ दल दर्ता प्रक्रियामा रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केन्द्रीय सदस्य र सांसदलाई ‘सुरक्षित राख्न’ महँगो रिसोर्टमा पु¥याएका छन् । आफूपक्षीय केन्द्रीय सदस्य र सांसदसहित उनी सोमबार चन्द्रागिरि हिल्स रिसोर्टमा बास बस्न गएका हुन् । नेपाल दिउँसो ३ बजेअगावै चन्द्रागिरि पुगेका थिए ।

नेपालको नेतृत्वमा प्रस्ताव गरिएको नेकपा ९एकीकृत समाजवादी० दल दर्ताका लागि निर्वाचन आयोगले सनाखत गर्न बुधबार बोलाएको छ ।रिसोर्ट प्रशासनका अनुसार एक रातको एउटा बेडको शुल्क केबलकार, ब्रेकफास्ट र बेड शुल्क जोडेर ८ हजार रुपैयाँ छ ।

त्यसबाहेक एकछाक खानाको १ हजार ४ सय रुपैयाँ तोकिएको छ । नेपालसहित करिब ६ दर्जन व्यक्तिका लागि रिसोर्ट बुक गरिएको छ । होटलले उल्लेख गरेको शुल्कअनुसार न्यूनतम खर्च मात्रै हिसाब गर्ने हो भने ६० देखि ७० जनाको एक रातको होटल बसाइ शुल्क ६ लाखभन्दा माथि पुग्छ । नेपाल पक्षका केन्द्रीय सदस्य तथा सांसद विरोध खतिवडाले आफूहरू दर्ता प्रक्रियामा रहेको पार्टीको सांगठनिक, राजनीतिक र वैचारिक सबै किसिमका योजना तर्जुमा गर्न रिसोर्टमा भेला भएको बताए । संस्थापन पक्षको तानातानबाट जोगाउन रिसोर्टमा जानुभएको हो रु भन्ने प्रश्नमा उनले नयाँ दल गठनमा सामेल भएकाहरू कसैको आश्वासन र लोभमा नफस्ने बताए ।

‘नयाँ पार्टी गठन भइसक्यो, अब हाम्रो नेता माधवकुमार नेपाल हुनुहुन्छ, उहाँको सहमति र सल्लाहमा भएका बैठक र छलफल मात्रै हाम्रा लागि मान्य हुने हो,’ उनले भने, ‘अरू कसले कहाँ बतासे फूल पार्दै हिँड्नुहुन्छ, कोसँग भेटघाट गर्नुहुन्छ, त्यसमा नयाँ पार्टी गठनमा संलग्न कसैको सरोकार र सम्बन्ध छैन ।’ उनले यसअघि नेपाललाई साथ दिएका तर नयाँ दल दर्ता प्रक्रियामा असन्तुष्ट रहेर एमालेमै बसेका नेता नभए पनि आफूहरूको अभियानमा कुनै फरक नपर्ने बताए ।

नेपाल पक्षमा लागेका सांसद र केन्द्रीय सदस्यहरू एकढिक्का रहेको र कसैले हल्लाउन नसक्ने बताए । नयाँ दल गठनप्रति असन्तुष्ट तेस्रो धारका एमाले नेताहरू र अध्यक्ष केपी शर्मा ओलीबीच सोमबारै ओली निवास बालकोटमा पार्टीलाई एकढिक्का बनाएर अघि बढ्ने र यसअघिको १० बुँदे समझदारी कार्यान्वयन गर्ने सहमति बनेको थियो । सहमति भएकै दिन तेस्रो धारका नेताहरूले सांसद र केन्द्रीय सदस्यलाई प्रभावित पार्न सक्ने जोखिम देखेर नेपालले आफूनिकट नेताहरूलाई रिसोर्ट पु¥याएको संस्थापन पक्षका एक नेताले बताए ।


खतिवडाले रिसोर्टमै बसेर नेपाल पक्षमा खुलेका केन्द्रीय सदस्य र सांसदको सामूहिक सल्लाह र परामर्शमा पार्टीको आगामी कार्यदिशा, नीति, विचार, सांगठनिक गतिविधिको टुंगो लगाउने र निर्वाचन आयोगमा दल दर्ता भएपश्चात् संगठन विस्तार र कार्यक्रम लिएर देशभर पार्टी शक्तिलाई परिचालन गरिने बताए । नेपाल पक्षकै अर्का नेताले भने नेपाल सांसद र केन्द्रीय सदस्यलाई तानातान हुन नदिन केन्द्रित भएको बताए । रिसोर्टमै रहेका ती नेताले भने, ‘हिजो नेपाल पक्षमा रहनुभएका केही कमरेडहरू स्वार्थकै लागि अहिले ओलीतिर जानुभएको छ, उहाँहरू त जानुभयो भयो, यता रहनुभएका केहीलाई पनि तान्न सकिन्छ कि भन्ने आशा रहन सक्छ तर त्यो आशा निरर्थक हो । हामी एकढिक्का छौं । हामी एक भएर दल दर्तामा सामेल भइसकेका छौं ।’

राजनीतिशास्त्रका प्राध्यापक खड्ग केसीले आफ्नै दलका नेतालाई यसरी होटलररिसोर्टमा राखेर आफ्नो पक्षमा तान्नु गैरकम्युनिस्ट आचरण भएको बताए । ‘केही सीमित व्यक्तिले पार्टी विभाजनमा पनि लगानी गर्नुको अर्थ हो– केही समयपछि त्यसको भरपूर फाइदा उठाउनु,’ उनले भने, ‘यसले कम्युनिस्ट नेताहरूमा सैद्धान्तिक र व्यावहारिक स्खलन भएको देखिन्छ ।’ उनले कम्युनिस्ट पार्टीले वैचारिक सुदृढीकरणका लागि अभियान चलाउनुपर्ने बताए ।

‘केपीले माफी मागे भविष्यमा एकता हुन सक्छ’

चन्द्रागिरि पुगेपछि सुरु भएको भेलालाई सम्बोधन गर्दै नेता नेपालले तत्कालीन कोअर्डिनेसन केन्द्रका संस्थापकमध्ये आफूहरू तीन जना सँगै रहेको बताएका छन् । ‘२०३२ सालमा कोअर्डिनेसन केन्द्रका संस्थापकमध्येका झलनाथ खनाल, म र मुकुन्द न्यौपाने सँगै छौं, एमाले पार्टी हामीले बनाएका हौं तर केपीको षड्यन्त्र र जालझेलले नयाँ पार्टी दर्तामा जान बाध्य भयौं,’ नेपालको भनाइ उद्धृत गर्दै एक नेताले भने, ‘पार्टीले मान्यता पाएपछि सही नीति र विचारका साथ हामी अगाडि बढ्छौं । अहिले बीचमा रहेका साथीहरू पनि अधिकांशले हामीलाई साथ दिनुहुन्छ ।’

नेपालले भेलामा उपाध्यक्ष वामदेव गौतमले पनि साथ दिने दाबी गरेका थिए । यद्यपि गौतमले भने आफू एमालेमै रहेको बताएका छन् । नेता नेपालले अझै ओली सुध्रिएर आए भविष्यमा पार्टी एकता हुन सक्ने बताएका छन् । ‘केपी सुध्रिन्छन् भन्ने कुनै आशा छैन, उनको षड्यन्त्र, जालझेलबाट आजित भएर अहिले त्यहाँ रहेका साथीहरूले ढिलोचाँडो विकल्प सोच्नुहुनेछ,’ उनले भने, ‘हैन केपी नै सुध्रिएछन्, माफी मागेछन् भने अझै भविष्यमा कार्यगत एकता वा चुनावी तालमेल हुन सक्छ ।’

प्रस्तावित पार्टीको निवेदन दर्ता गर्दा नेपालले ५८ केन्द्रीय सदस्य र ३१ संघीय सांसदको नामावली आयोगमा बुझाएका थिए । तीमध्येका केही केन्द्रीय सदस्यले नयाँ पार्टीलाई साथ दिन नसकिने बताइसकेका छन् । नेपाललाई नयाँ पार्टी दर्ता गर्न ४१ केन्द्रीय सदस्य आवश्यक पर्छ ।

टुटफुटमा ‘बँधुवा राजनीति’

विगतमा पनि सांसद किनबेच र होटल र रिसोर्टमा राखेर आफ्नो पकडमा राख्ने काम हुँदै आएको छ । एमाले विभाजनको पछिल्लो घटनाक्रमसँगै नयाँ दल दर्ता गर्न लागेका पूर्वप्रधानमन्त्री नेपालले त्यही कामलाई निरन्तरता दिएका छन् । यसअघि बहुमत जोगाइराख्न लुम्बिनीका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलकै योजनामा सांसद विमला वलीलाई निवासमा जबर्जस्त राखेको आरोप लाग्यो । पोखरेलकै योजनामा आफूलाई बन्धक बनाएको आरोप वलीले लगाएकी थिइन् । गण्डकी प्रदेशमा पनि बहुमत जुटाउने नाममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको योजनामा राष्ट्रिय जनमोर्चाका सांसदलाई बिरामी नै नभई अस्पताल भर्ना गरेर लुकाएको आरोप लाग्यो ।

तत्कालीन संघीय समाजवादी पार्टी विभाजनकै मनसायले २०७७ वैशाख १० मा उक्त पार्टीका सांसद सुरेन्द्र यादवलाई महोत्तरीबाट ‘अपहरण गरी काठमाडौंको होटल मेरिएटमा ल्याएको’ आरोप चर्चित बन्यो । उक्त काममा एमालेका सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठ अनि पूर्वआईजीपी सर्वेन्द्र खनाल मुछिए । प्रधानमन्त्री ओलीलाई साथ दिने वा विपक्षी गठबन्धनमा सामेल हुने भन्नेमा विवाद भएपछि जनता समाजवादी पार्टीको उपेन्द्र यादव र महन्थ ठाकुररराजेन्द्र महतो समूहमा विवाद निम्तियो । ओलीलाई हटाउने खेल सफल हुन नदिन ठाकुररमहतो पक्षले २०७८ वैशाख २९ मा आफूनिकटका सांसदलाई भक्तपुरको डोलेश्वर भिलेज रिसोर्टमा पु¥याएका थिए ।

२०५३ पुसमा एमालेले राप्रपा, सद्भावना र स्वतन्त्र सांसदको सहयोगमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध अविश्वास प्रस्ताव ग¥यो । तर, देउवाले राप्रपा, सद्भावना र केही स्वतन्त्र सांसदलाई हातमा लिएर काठमाडौंदेखि थाइल्यान्डसम्म पठाए । थाइल्यान्ड गएका राप्रपाका पाँच सांसदलाई त प्रतिव्यक्ति २ हजार डलर दिएर पठाइएको खुलेको थियो । थाइल्यान्ड नगएकालाई राजधानीकै समिट, वैशाली, काठमाडौं गेस्ट हाउसलगायतमा लुकाएर मतदानमा सहभागी हुनै दिइएन ।कान्तिपुर दैनिकबाट

प्रतिक्रिया