मुलुकको अर्थतन्त्रका बाह्य सूचक सकरात्मक

काठमाडौं–कोभिडको कारण मुलुकको अर्थतन्त्र धरासायी भएको बेला मुलुकका बाह्य आर्थिक सूचक सकरात्मक देखिएका छन् । मुलुकको आर्थिक वृद्धिदर खुम्चिए पनि अन्य सूचक सन्तोषजनक छन् ।चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा नेपालको शोधनान्तर स्थिति १ खर्ब ६ अर्ब ४८ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २३ अर्ब ३० करोडले बचतमा रहेकोमा यस वर्ष शोधानान्तर स्थिति थप बचतमा पुगेको हो ।

समीक्षा अवधिमा चालु खाता २१ अर्ब ३२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ६५ अर्ब १३ करोडले घाटामा रहेको थियो । समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर १६ प्रतिशतले कमी आइ ४ अर्ब ७५ करोड कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३१.५ प्रतिशतले कमी आई ४ अर्ब ५० करोड कायम भएको केन्द्रिय बैंकको तथ्याँकले देखाउछ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर ५ अर्ब ६५ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ६ अर्ब ५७ करोड रहेको थियो ।
२०७७ असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ५.२ प्रतिशतले वृद्धि भई २०७७ मंसिर मसान्तमा १४ खर्ब ७४ अर्ब ३४ करोड पुगेको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७७ असार मसान्तमा १२ खर्ब २६ अर्ब १२ करोड रहेकोमा २०७७ मंसिर मसान्तमा ५.९ प्रतिशतल वृद्धि भई १२ खर्ब ९८ अर्ब ७२ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति ०.१ प्रतिशतले घटेर १ खर्ब ७५ अर्ब ६२ करोड कायम भएको छ ।
आर्थिक वर्ष २०७७÷७८ को पाँच महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.४ महिनाको वस्तु आयात र १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

प्रतिक्रिया