वाणिज्य बैंकहरूको खराब कर्जा बढ्दो क्रममा: दीर्घकालीन असरको चिन्ता

काठमाडाैं -विगत एक वर्षदेखि बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा अनुपात लगातार बढिरहेको छ। वाणिज्य बैंकहरूले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार, औसत खराब कर्जा अनुपात ४.०४ प्रतिशत पुगेको छ, जुन गत वर्षको तुलनामा ०.६४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष असोज मसान्तमा यो अनुपात ३.४० प्रतिशत थियो।

बैक तथा वित्तीय संस्थाहरूको खराब कर्जामा यसरी भएको वृद्धिले दीर्घकालीन असर पार्नसक्ने भन्दै सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन्। बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (CBFIN) का वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायका अनुसार, कोभिड–१९ पछि खराब कर्जा र गैर बैंकिङ सम्पत्तिको समस्या समाधानका लागि प्रभावकारी संस्थागत व्यवस्थापनको आवश्यकता रहेको छ।

बैंकहरूले विभिन्न रणनीतिहरू अपनाए पनि कर्जा असुली प्रभावकारी हुन नसक्दा र कर्जाको माग कम भएपछि खराब कर्जा घटाउन खासै सफलता प्राप्त भएको छैन। उत्पादनशील तथा निर्माण क्षेत्रमा कर्जाको माग न्यून भएकाले आन्तरिक अर्थतन्त्रमा सुधार नआउँदा बैंकहरूको खराब कर्जा थप बढ्नसक्ने चेतावनी दिइएको छ।

बैंकरहरूले उत्पादनशील क्षेत्रमा कर्जाको माग कम रहेको र उपभोग्य कर्जाको माग भने बढ्दै गएको बताएका छन्। एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले पनि यही समस्यालाई उजागर गर्दै, आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउन निर्माण क्षेत्रमा कर्जा प्रवाह आवश्यक रहेको बताउँछन्।

हाल, पाँच बैंकहरूको खराब कर्जा अनुपात ५ प्रतिशतभन्दा माथि छ भने अन्य ९ बैंकको अनुपात ४ प्रतिशतभन्दा बढी पुगेको छ। यद्यपि, केही बैंकहरूले आफ्नो खराब कर्जा घटाउन सफल भएका छन्। नेपाल एसबिआई, एभरेष्ट र कृषि विकास बैंकको खराब कर्जा अनुपात गत वर्षको तुलनामा घटेको छ, जसमध्ये एभरेष्ट बैंकको अनुपात सबैभन्दा कम ०.७७ प्रतिशत छ।

प्रतिक्रिया