बजारमा आईपीओ ओइरो, हिमालयन हाइड्रोपावरले आईपीओ जारी गर्ने तयारी

काठमाडौं–विभिन्न कम्पनीहरुले सर्वसाधारणका लागि धमाधम प्राथमिक शेयर(आईपीओ) निष्कासन गरिरहेका छन् । केही कम्पनीहरुले आईपीओ निष्कासनका लागि धितो पत्र बोर्डमा अनुमति दिएर स्वीकृतिको प्रक्रियामा रहेका छन् ।

जलविद्युत् आयोजना निर्माण गर्ने हाइड्रोपावरले आईपीओ जारी गर्ने तयारी गरेको छ । हिमालयनको आईपीओ पाइपलाइनमा रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेर स्वीकृतिको प्रक्रिया रहेको छ । हिमालयन हाइड्रोपावरले कम्पनीले २२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्न बोर्डमा गत कात्तिक २७ गते दिएको थियो । १०० रुपैयाँ अंकित मूल्यमा २२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न अनुमतिको पर्खाइमा छ ।

कुल निष्कासित हुने सेयरमध्ये ९ करोड रुपैंया बराबरको ९ लाख कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको छ । कम्पनीको आईपीओ बिक्री प्रबन्धक जनता क्यापिटल लिमिटेड रहेको छ ।

हिमालयन हाइड्रोपावरले कास्कीको मादी गाउँपालिकामा १२ मेगावाट क्षमताको जलविद्युुत आयोजना निर्माण सम्पन्न गरिसकेको छ । मादीको वडा नम्बर २ साविक नार्माजुङ गाविसमा हिमालयन हाइड्रोपावर लिमिटेडद्धारा प्रवद्र्धित ‘नामार्जुङ जलविद्युत आयोजना’ निर्माण सम्पन्न भएर आयोजनाले उत्पादन गरेको विद्युत राष्ट्रिय प्रसारण लाइनमा गत भदौदेखि जडान गरिएको छ । मादी नदीको पानी एक हजार २५० मिटर लामो ‘ओपन क्यानल’मार्फत ६४ मिटर उचाइबाट आयोजनाको विद्युत गृहमा खसालेर विद्युत उत्पादन गरिएको हो ।

ग्लोबल आइएमइ बैकको नेतृत्वमा विभिन्न वित्तीय संस्थाको १ अर्व ४७ करोड तथा लगानीकर्ता, शेयर निष्कासन तथा स्थानीयवासीको ९० करोड गरी दुई अर्ब २७ करोड रूपैयाँमा आयोजना निर्माण सम्पन्न भएको थियो ।

प्रतिक्रिया