साताको अन्तिम दिन शेयर बजारमा उछाल, नेप्से ७८ अंकले उकालो

काठमाडौं – साताको अन्तिम दिन बिहीबार नेपाली शेयर बजारमा ठूलो उछाल आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) केही समयदेखि निरन्तर घटेर २५०० विन्दुको आसपास पुगेपछि बिहीबार ७८.१७ अंकले बढेर २६८८.३८ विन्दुमा पुगेको हो। योसँगै शेयर बजारमा सुधारको संकेत देखिएको छ।

बिहीबारको कारोबार प्रि-ओपन सेसनमा १५ अंकको बृद्धिसँगै सुरु भए पनि केही समयमै बजार तल झरेको थियो। तर, बजारले २६०० विन्दुको तल झर्ने जोखिमबाट जोगिँदै खरिदकर्ताको चापमा फेरि उकालो लाग्न थाल्यो। १२:११ बजेदेखि निरन्तर वृद्धि देखिएको बजार दिनको अन्त्यमा २६८८ विन्दुमा रोकिएको हो।

बिहीबारको कुल कारोबार रकम ८ अर्ब १६ करोड ९२ लाख ७४ हजार रुपैयाँ पुगेको छ। १ करोड ९४ लाख ३३ हजार १५४ कित्ता शेयर १ लाख ३ हजार ४६२ पटक किनबेच भएका छन्। आज २२९ वटा कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ भने १२ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आएको छ। ३ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ।

बिहीबार म्युचुअल फण्ड समूहबाहेक सबै समूहमा सकारात्मक वृद्धि देखिएको छ। म्युचुअल फण्ड समूहमा ०.०९ प्रतिशतले गिरावट आएर २१.५६ विन्दुमा पुगेको छ, तर हाइड्रोपावर समूहले सबैभन्दा ठूलो वृद्धि गर्दै ४.२४ प्रतिशतले उकालो लागेर ३३१८.९८ विन्दुमा पुगेको छ।

त्यस्तै, वाणिज्य बैंक समूह २.६६ प्रतिशत, विकास बैंक २.७० प्रतिशत, फाइनान्स ३.४० प्रतिशत, होटल तथा पर्यटन २.५० प्रतिशत, लगानी समूह ३.७२ प्रतिशत, जीवन बीमा ३.४६ प्रतिशत, उत्पादन तथा प्रशोधन २.२४ प्रतिशत, लघुवित्त १.५८ प्रतिशत, निर्जीवन बीमा २.०१ प्रतिशत र अन्य समूह ३.८२ प्रतिशतले बढेका छन्।

प्रतिक्रिया