नेपालमा कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या घट्दो क्रममा रहेको छ । दशैँअघिसम्म ४५ हजारको हाराहारीमा रहेका सक्रिय संक्रमित पछिल्लो समय भने निरन्तर घट्दो क्रममा रहेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार देशभर सक्रिय संक्रमित १८ हजार ८८४ जना रहेका छन् । मन्त्रालयका अनुसार हाल सक्रिय संक्रमित कुल संक्रमितको ९.५ प्रतिशत मात्रै हुन् ।
पछिल्लो २४ घण्टामा १९८० जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको कुल संख्या २ लाख २२ हजार २२८ जना पुगेको छ भने त्यसमध्ये २ लाख २ हजार ६७ जना निको भएका छन् । नेपालमा कोरोना निको हुने दर ९०.९ प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ । सोमबार मात्रै ३ हजार ४३ जना संक्रमणमुक्त बनेका छन् ।
यस्तै सोमबार थप १६ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या १३३७ पुगेको मन्त्रालयले जनाएको छ । सोमबारसम्म देशभर १६ लाख ७० हजार ४५६ जनाको पीसीआर भएको छ भने पछिल्लो २४ घण्टामा १० हजार ३८१ जनाको परीक्षण भएको छ ।
काठमाडौंमा १ हजार ७ जना संक्रमित थपिए
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ हजार ७ जनामा संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये काठमाडौंमा ८ हजार ६६७ जना, भक्तपुुरमा ६२८ र ललितपुरमा १ हजार ४९८ जना सक्रिय संक्रमित रहेका छन् । हाल काठमाडौं उपत्यका र कास्कीमा मात्रै ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् भने मनाङ र मुगु संक्रमणमुक्त जिल्ला बनेको छ ।