काठमाडाैं - चीनको स्वशासित क्षेत्र तिब्बतको सिगात्से नजिकै मंगलबार बिहान गएको ६.८ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट कम्तीमा १२६ जनाको मृत्यु भएको छ भने १८८ जना घाइते भएका छन्। भूकम्पको केन्द्रबिन्दु डिङ्ग्री काउन्टीमा जमिनको सतहदेखि १० किलोमिटर तल रहेको चीनको चाइना अर्थक्वेक नेटवर्क्स सेन्टरले जनाएको छ। भूकम्प बिहान ९:०५ बजे गएको थियो।
नेपालको उत्तरपूर्वी सीमा नजिकैको यस भूकम्पको धक्का नेपाल, भारत र भुटानमा पनि महसुस भएको छ। नेपालमा ५.३ म्याग्निच्युडको भूकम्प मापन गरिएको छ भने अमेरिकी भौगर्भिक निकाय यूएसजीएसले ७.१ म्याग्निच्युडको भएको जनाएको छ। नेपालका ओखलढुंगा, सोलुखुम्बु र संखुवासभाका केही घरहरूमा सामान्य क्षति पुगेको जनाइएको छ। भारतमा पश्चिम बंगाल, असम, बिहार र दिल्लीसम्म धक्का महसुस भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
सिगात्से सहरमा मात्रै हजारभन्दा बढी भवन भत्किएका छन्। भूकम्पको केन्द्रबिन्दु नजिकका ७ वटा गाउँ र २० किलोमिटर वरपर रहेका दुई सहरहरूमा ठूलो क्षति भएको छ। विद्युत् र जल वितरण प्रणाली अवरुद्ध हुँदा प्रभावित क्षेत्रका मानिसहरू थप समस्यामा परेका छन्। तापक्रम माइनस ८ डिग्री सेल्सियस रहेको यस क्षेत्रमा उद्धारकार्यमा चिनियाँ सेना र अन्य निकायहरू जुटेका छन्। कठिन भूगोलका कारण मानवरहित ड्रोन प्रयोग गरी राहत तथा उद्धार कार्य सञ्चालन भइरहेको छ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले भूकम्पको पीडा कम गर्न पूर्णस्तरीय खोजी र उद्धारमा लाग्न निर्देशन दिएका छन्। दलाई लामाले पीडितप्रति दुःख व्यक्त गर्दै मृतकका लागि प्रार्थना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। नेपाली राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सामाजिक सञ्जालमार्फत भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। भूकम्पले पुर्याएको क्षति तथा राहत प्रयासको जानकारी आइरहेको छ। आजको कान्तिपुर दैनिकबाट