आइतबारदेखि केही दिन भारी वर्षा हुने पूर्वानुमान गरिएकाे जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।
मनसुनी न्यून चापीय रेखा नेपालको तराई नजिक आउने सम्भावना रहेकोले प्रदेश १, प्रदेश २, प्रदेश ५, वाग्मती र गण्डकी प्रदेशमा भारी वर्षा हुन सक्ने विभागले जनाएको छ । वर्षासँगै बाढी पहिरो जान सक्ने भन्दै सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।
यस्तै, साउन ५ देखि ८ गतेसम्म कन्काई, तमोर, सुनकोशी, सप्तकोशी, कमला, वाग्मती, बुढीगण्डकी, सेतीगण्डकी, मर्स्याङदी र कालीगण्डी नदीका साथै तिनका सहायक नदीहरुमा पानीको सतह बढ्न सक्ने विभागले जनाएको छ। साउन ९ गतेसम्म यी नदीहरुमा आकस्मिक बहाब हुन सक्ने भन्दै तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको छ ।
साउन ५ देखि ७ गतेसम्म तिनाउ, पश्चिम राप्ती र बबई नदी तथा तिनका सहायक नदीमा समेत पानीको सतह बढ्ने सक्ने जनाइएको छ ।