गण्डकी प्रदेशमा भोलिदेखि ‘नाकाबन्दी’

ण्डकी प्रदेशमा नाकाबन्दी गरिने भएको छ । कोरोना भाइरस संक्रमणको सम्भावित जोखिम न्यूनीकरणका प्रदेशमा छिर्ने सबै नाका बन्द गरी अत्यावश्यक सेवाका सवारीसाधनमात्र प्रवेश हुने भएका छन् ।

कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापन गर्नका लागि गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा गठित उच्चस्तरीय निर्देशक समितिको सोमवार बसेको प्रथम बैठकले मंगलवार बिहानदेखि गण्डकी प्रदेशका सबै नाका १ साताका लागि बन्द गरी सुरक्षा व्यवस्था अपनाइने निर्णय गरेको हो ।

बैठकमा निर्णय सार्वजनिक गर्दै गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माले भने, ‘गण्डकीमा अत्यावश्यकीय मालबाहक सामानबाहेक सर्वसाधारणलाई प्रदेश प्रवेश गर्ने नाकामा रोक्ने निर्णय भएको छ ।’

गण्डकीमा विभिन्न ११ जिल्ला पर्दछन् । जसमा कास्कीसहित स्याङ्जा, लमजुङ, गोरखा, पर्वत, तनहुँ, मनाङ, मुस्ताङ, नवलपुर, म्याग्दी र बागलुङ जिल्ला पर्दछन् । प्रदेश छिर्ने मुख्य नाकामा पृथ्वी राजमार्गको आँबुखैरेनी, सिद्धार्थ राजमार्गको रामदी, मुस्ताङको कोराला, त्रिवेणी, दाउन्ने, गैंडाकोट, आरुघाट, कोराला लगायत छन् ।

ती नाकाबाट अत्यावश्यक मालबाहक सामान, अस्पतालमा प्रयोग हुने सामग्री, दूध, पानी, लगायतका सवारीसाधन भने प्रवेश गर्न सक्ने भएपनि अन्य बन्द हुनेछन् ।

अस्पतालमा ओपीडी सेवा बन्द गरी इमर्जेन्सी सेवा मात्र सञ्चालन गर्ने र ‘हेल्लो डाक्टर’ कार्यक्रम प्रभावकारी बनाउँदै लैजाने समेत निर्णय भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले हेल्लो डाक्टरको लागि हाल प्रयोग गरेको ०६१–५२४०७४ मा फोन गरेर थप जानकारी लिन सक्नेछन् ।

कोरोनाको सम्बन्धमा त्यहाँँ बिहान ८ देखि बेलुका ५ बजेसम्म फोन गरेमा सम्बन्धित डाक्टरले आवश्यक परामर्श दिने जनाइएको छ ।

कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखी गण्डकी प्रदेशका विभिन्न ५० बेड क्षमताका निजी, सरकारी तथा सामुदायिक अस्पतालमा हाललाई इमर्जेन्सी सेवा मात्र सञ्चालन गरी ओडीपी सेवा भने बन्द गरिने भएको छ । त्यहाँ ज्वरो क्लिनिकको रुपमा विकास गर्ने, उपचारका लागि आउने बिरामीको सर्वप्रथम ज्वरो नाप्ने, १०४ फरेनहाइट तापक्रमसम्म ज्वरो देखिए नमूना संकलन गरी त्यही अनुसारको प्रक्रिया गरिने भएको छ ।

पोजेटिभ देखिए डेडिकेटेड कोरोना संक्रमण व्यवस्थापनका लागि तयार पारिएको लेखनाथस्थित लेखनाथ सामुदायिक लायन्स अस्पतालमा लैजाने र नेगेटिभ देखिए सुरक्षित रुपमा घर पठाइने भएको छ ।

बैठकले ६० बेडको लेखनाथ सामुदायिक लायन्स अस्पताललाई डेडिकेटेड कोरोना संक्रमण व्यवस्थापनका लागि अस्पताल बनाउने निर्णय गरेको हो ।

गण्डकीमा हाल ११० वटा आइसोलसन बेड तयार पारिएको छ । हालसम्म कोरोना भाइरसको आशंकामा पोखराबाट काठमाडौंमा पठाइएको १० रिपोर्टको नमूनामध्ये ८ वटाको नेभेटिभ आएको छ । २ वटाको नमूना परीक्षण हुन बाँकी रहेको डा. शर्माले बताए ।

गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले मुख्यमन्त्री विपत् व्यवस्थापन कोषमा कम्तीमा १० करोड रुपैयाँ राख्नेबारे छलफल भएको जानकारी दिए । प्रदेशको आवश्यकता हेरेर ‘लक डाउन’ गर्नुपर्ने अवस्था आए सोच्न सकिने तर अहिलेको अवस्थामा समस्या नरहेको बताए ।

पोखरा महानगरपालिका–५ मालेपाटनस्थित कृषिको तालिम केन्द्रको होस्टेललाई पहिलो लेवलमा क्वारेन्टाइन रुपमा विकास गर्ने निर्णय भएको छ । त्यहाँ ६० वटा बेड रहने छन् । पछि आवश्यकता अनुसार पोखराको लामाचौरस्थित मातृ शिशु अस्पताललाई समेत क्वारेन्टाइनको रुपमा विकास गरिने भएको छ ।

प्रदेशभित्र पनि मंगलवारदेखि कुनै पनि सार्वजनिक यातायातका साधन सकेसम्म नचलाउन आग्रह गरिने भएको छ ।

गण्डकीमा मुख्यमन्त्रीको संयोजकत्वमा २६ सदस्यीय उच्चस्तरीय निर्देशन समेत गठन भएको हो । प्रदेशका ११ वटै जिल्लामा हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि समितिले कडा कदम चाल्न पनि पछि नपर्ने सरकारका प्रवक्ता बस्नेतले बताए । विभिन्न जिल्लाले स्वयं सुरक्षा व्यवस्थापन अपनाउन सक्ने भएकाले उनीहरूले गरेका निर्णयमा प्रदेश सरकारले कुनै टिप्पणी नगर्ने बताए ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले नगरबासीलाई सुरक्षित रहन आग्रह गर्दै सकेसम्म घरमै बस्न भनेका छन् । मंगलवारदेखि नगर बस समेत सञ्चालन नहुने उनले बताए ।

प्रतिक्रिया