‘कोरोनाबाट नआत्तिऔँ : सजगता अपना‌औँ, त्रसित नबनौँ’

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेलाई आजभोलि फोन उठाउन भ्याई नभ्याई भएको छ । धेरैको प्रश्‍न ‘मलाई रुघा लागेको छ, कतै कोरोना त होइन ?’ भन्ने हुन्छ ।

हालसम्म विश्‍वभर कोरोना भाइरसबाट सङ्क्रमितको संख्या ९४ हजार २ सय ३९ पुगेको छ । कोराना लागेर पनि ठीक हुनेको संख्या ५१ हजार १ सय ८८ पुगेको छ । कोरोनाको कारण अहिलेसम्म ३ हजार २ सय १९ जनाको ज्यान गएको छ ।

कोरोना लागेकामध्येबाट ३ प्रतिशतको ज्यान गएको छ भने ५४ प्रतिशत व्यक्ति कोरोना लागे पनि अहिले ठीक भइसकेका छन् ।

नेपाललाई विश्‍व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसको उच्च जोखिममा राखेसँगै त्रास बढी देखिएको डा. पाण्डे बताउँछन् । विश्‍व स्वास्थ्य सङ्गठनले उच्च जोखिममा राखेपछि सरकारले सजगता बढाएको समेत छ । अन्तर्राष्ट्रियस्तरका कार्यक्रमहरू स्थगित गरेको छ । सरकारले सजगता अपनाउनु स्वाभाविक पनि भएको उनको बुझाइ छ ।

उनका अनुसार नेपालमा सङ्क्रमण आएको स्थिति भने होइन, सजगता भने आवश्‍यक हो । ‘विश्‍व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले हामीलाई अति जोखिमको सूचीमा राखेपछि सङ्क्रमण आएजसरी नै केही त्रास फैलिएको देखिएको छ’, डा. पाण्डे भन्छन्, ‘डब्लुएचओले नेपाललाई नमुना देशको रूपमा पनि पहिचान गरेको छ ।’

डा. पाण्डेका अनुसार नेपालमा अहिलेसम्म २५ जनालाई सङ्क्रमणको शंका गरिएकामा कसैलाई पनि समस्या देखिएको छैन। डेढ महिनाअघि १ जनालाई कोरोना देखिएकामा उनी पनि पूर्ण रूपमा ठीक भएर परिवारसँगै छन् । उनको कारणले अर्को व्यक्तिलाई सर्न पाएन ।

‘डब्लुएचओले हामीलाई चीनसँग जोडिएको देश र भारतसँग खुला सीमा भएको देश तथा नेपालमा आवत-जावत बढी भएका कारण अति जोखिम सूचीमा पारेको हो कि भन्न सकिन्छ’, पाण्डे भन्छन्, ‘१ जनालाई देखिएर कसैलाई पनि कोरोना सरेको छैन । यसले हाम्रो सक्षमता पनि देखाउँछ, कम जोखिम पनि देखाउँछ ।’

जब शंका हुन्छ

रुघा लाग्नु मात्र होइन, ज्वरो आउनु र सास फर्न गाह्रो हुनुसम्मका पनि लक्षण एकसाथ देखिए भने कोरोनाका शंका हुन सक्छ । डा. पाण्डेका अनुसार ज्वरो मात्रै आए वा रुघा मात्रै लाग्दा पनि कोरोना लागेको शंका गरेर हस्पिटल धाउनेको संख्या बढेको छ ।

अहिले आमसर्वसाधरणलाई मनोवैज्ञानिक असर बढी देखिएको पाण्डे बताउँछन् ।

‘ह्याण्ड वासिङ सूत्र, रुघा लागे मास्क

डा. पाण्डेका अनुसार कोरोना सङ्क्रमणबाट बच्न हात धुनु, हात धुनु र हात धुनै नै सबैभन्दा राम्रो उपाय हो । हरेक पटक गन्तव्यमा पुगेपछि सम्भव भएसम्म साबुन-पानीले हात धुन पाण्डे सुझाव दिन्छन् ।

काठमाडौंमा हिँड्दा सधैँ मास्क लगाउन आवश्‍यक छ । तर, अहिले कोरोनाबाट बच्नका लागि भन्दै सबैलाई मास्क अनिवार्य नरहेको उनी बताउँछन् ।

‘हो, हामीले मास्क लगाउनुपर्छ । अहिलेको अवस्थामा तपाईंलाई रुघाखोकी लागेको छ भने मास्क लगाए हुन्छ, सबैलाई अनिवार्य छैन’, पाण्डेले भने । उनले अहिलेको अवस्थामा धेरै भीडभाडमा नजानु नै राम्रो हुने बताए ।

‘अहिले नेपालमा कसैलाई कोरोना होइन तर कसलाई छ, तपाई थाहा नहुन सक्छ । त्यस कारण भीडमा जानु आवश्‍यक छैन’, पाण्डेले भने । पाण्डेले काँचो मासु नखानका लागि सुझाव दिए, ‘हामीले काँचो माछा वा मासु खाँदैनौँ, त्यो नखानका लागि पनि अनुरोध गर्छु, राम्ररी पकाएर खाँदा समस्या हुनेछैन ।’

होम क्वारेन्टाइन पनि आवश्‍यक रहेको उनको भनाइ छ । आफैँलाई बढी रुघा खोकी लाग्दा घरमा पनि सिंगल रुम वा एकान्तमा बस्न पाण्डेको सुझाव छ । ‘सबै अस्पतालमा भर्ना भएर सम्भव छैन, हामीलाई शंका नै लाग्यो भने पनि कम्तीमा होम क्वारेन्टाइनको अवधारणामा बस्नुपर्छ’, पाण्डेले भने ।

सजगता अनिवार्य आवश्‍यक

सरकारले आवश्‍यक सजगताका लागि निरन्तर आग्रह गरेको छ । बाहिर हिँड्दा मास्क लगाउन आग्रह गरेको छ तर बजारमा मास्क भने पाइँदैन ।

सरकार भन्छ- विदेश नजानू, अधिकारी जान्छन् सयरमा

सरकारले भीडभाडमा नजान र अनावश्‍यक काममा बाहेक विदेश नजान आग्रह गरेको छ । नागरिकले सरकारले भनेका कुरालाई ध्यानपूर्वक सुनिरहेको पनि देखिन्छ ।

तर, पछिल्लो समय कोरोनाबाट अति प्रभावित देशको सूचीमा रहेको र धेरै मान्छे कोरानाको सङ्क्रमणमा परेको देश जापानमा नेपाल वायु सेवा निगमले सिधा उडान सुरु गरेको छ ।

निगमले नारिता उडान गत २० फागुन सोमबारबाट सुरु गरेको हो । उक्त उडानका क्रममा केही सरकारी अधिकारीसहित पत्रकारहरू पनि जापान गएका छन् ।

एकातिर सर्वोच्च अदालतले उक्त देशलगायत कोरोना प्रभावित देशबाट उडानमा रोक लगाउने आदेश गरेको छ भने अर्कातर्फ सरकारले त्यस देशमा उडान गरेको मात्र छैन केही नेपाली अधिकारी र पत्रकार लिएर उडेको पनि छ ।

उसो त सरकारले पनि कसैलाई पनि विदेश भ्रमणमा नजान अनुरोध गरिसकेको छ । तर, पर्यटन मन्त्रालयको पहलमा यी व्यक्तिहरू अहिले जापान भ्रमणमा रहेका छन् । यसले सरकारको आफ्नै निर्देशन र अनुरोध मन्त्रालय र कर्मचारीले उल्लङ्घन गरेको देखिएको छ भने सर्वोच्च अदालतको समेत अपहेलना गरेको देखिन्छ ।

अब जापानबाट फर्किने ती व्यक्तिलाई क्वारेन्टाइनमा राख्न आवश्‍यक हुन सक्छ । सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने देखिएको जनस्वास्थ्यविज्ञहरूको धारणा छ ।

प्रतिक्रिया