राजस्व चुहावट रोक्न अर्थमन्त्रीको कडा निर्देशन

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व संकलनमा तीव्रता ल्याउन अर्थ मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएका छन्। उनले अर्थ मन्त्रालयका सचिव र विभागीय प्रमुखहरूसँगको बैठकमा औसतभन्दा माथि उठेर कार्य गर्ने र मातहतका कर्मचारीहरूलाई सक्रिय बनाउन जोड दिए।

अर्थमन्त्री पौडेलले गत वर्षको तुलनामा १३ प्रतिशत राजस्व वृद्धिमा मात्रै सन्तोष गर्न नसकिने भन्दै प्रभावकारी कदम चाल्न आग्रह गरे। उनले संविधान र राष्ट्रको हितलाई ध्यानमा राखेर कानुनअनुसार करदातासँग राजस्व संकलन गर्नुपर्ने बताए।

राजस्व चुहावट नियन्त्रण गर्न सुरक्षा निकायसहित अन्य निकायहरूसँग समन्वय गर्नुपर्नेमा जोड दिँदै, उनले कमजोरी देखाउनेलाई कारबाही गर्न निर्देशन दिए। राजस्व संकलनमा सुधार ल्याउन नीतिगत, संरचनागत, र प्रक्रियागत सुधारमा मन्त्रालयको समर्थन रहने स्पष्ट पारे।

बैठकमा अर्थ सचिव, राजस्व सचिव, भन्सार विभागका महानिर्देशक, र आन्तरिक राजस्व विभागका महानिर्देशकको उपस्थिति थियो।

प्रतिक्रिया