काठमाडौँ — सरकारको अगुवाइमा डोल्पा जिल्लामा ठूलो जलासययुक्त जलविद्युत् आयोजना निर्माणको तयारी सुरु भएको छ। विद्युत् विभागले प्रस्तावित ३२८ मेगावाट क्षमताको भारबुंग जलविद्युत् आयोजना अघि बढाउने प्रक्रिया सुरु गरेको हो।
आयोजनाको सुरुवाती चरणमा अहिले वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) प्रतिवेदन तयार गर्ने काम थालिएको छ। ईआईए प्रतिवेदनका लागि विभागले हालै सार्वजनिक सुझावसमेत मागेको छ। यो प्रतिवेदन हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेड र न्यूजेक इंक जेभीले संयुक्त रूपमा तयार गरिरहेका छन्।
ईआईए र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएपछि आवश्यक लगानी संकलन गरी आयोजना निर्माणको प्रक्रिया अघि बढाइनेछ। आयोजना सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडलमा वा प्रतिस्पर्धात्मक प्रक्रियाबाट निजी क्षेत्रलाई निर्माणको जिम्मा दिन सकिने विभागले जनाएको छ।
यो आयोजना डोल्पाको छर्का, ताङसोङ र काइके गाउँपालिकाबाट बहने भारबुंग नदी र तातु खोलाको पानी प्रयोग गरी सञ्चालन गरिनेछ। योजनाअनुसार कागफोट गाउँभन्दा चार किलोमिटर माथि १५२ मिटर अग्लो बाँध निर्माण हुनेछ। त्यसबाट ५.१ मिटर व्यासको १५ किलोमिटर लम्बाइको सुरुङमार्फत पानी लिरी खोलानजिक बन्ने विद्युतगृहमा पु-याइनेछ।
यससँगै तातु आयोजना पनि निर्माण गरिनेछ, जसमा १२ किलोमिटर टाढा तीन मिटर अग्लो बाँध बनाई दुई किलोमिटर तल कागफोटमा विद्युतगृह निर्माण गरी ३.१ मेगावाट बिजुली उत्पादन गरिनेछ। तातु आयोजना भएर निस्किएको पानी पुनः भारबुंगको सुरुङमा मिसाइनेछ, जसले मुख्य जलासयमा पानीको प्रवाह बढाउनेछ।
यो आयोजनाको प्रारम्भिक अनुमान अनुसार लागत झण्डै ७२ अर्ब रुपैयाँ लाग्नेछ। तर, विस्तृत आयोजना प्रतिवेदन तयार भएपछि मात्रै कुल लागत यकिन हुने विभागको भनाइ छ।