सर्वोत्तम सिमेन्टको सेयरले सेबोन अध्यक्ष ढुंगानाको पद धरापममा


काठमाडौं–सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणका कारण नेपाल धितोपत्र बोर्डको अध्यक्ष भीष्मराज ढुंगानाको पद धरापममा परेको छ । ढुंगानाले कानुनविपरित छोरीको नाममा सर्वोत्तमको सेयर किनेको देखिएपछि निलम्बनमा परेका ढुंगानासँग उनलाई हटाउने तयारीका साथ मन्त्रिपरिषदले प्रष्टीकरण सोध्ने तयारी गरेको छ । सोमबारको मन्त्रिपरिषद वैठकले ढुंगानासँग प्रष्टीकरण मागको निर्णय गरेको हो । यसअघि अर्थ मन्त्रालयको प्रस्तावमा गत भदौ १६ को मन्त्रिपरिषद बैठकले ढुंगानालाई पदबाट निलम्बन गर्ने निर्णय गर्दै पदमुक्त गर्न उच्च अदालतका पूर्व न्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा समिति पनि गठन गरेको थियो । 


निलम्बन गर्नुअघि अर्थमन्त्रालयले समेत ढुंगानासँग भदौमै सर्वोत्तमको सेयर कारोबारका विषयमा प्रष्टीकरण सोधेको थियो। त्यसमा चित्तबुझ्दो उत्तर नदिएका ढुंगानामाथि अर्थले कानुन महाशाखा प्रमुख पराश्वर ढुंगानाको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो । ढुंगानाले बुक बिल्डिङ विधिबाट सर्वसाधारणलाई सेयर जारी गर्ने योजनामा रहेको सर्वोत्तम सिमेन्टको सेयर कानुनविपरीत छोरीका नाममा किनेको प्रमाण भेटिएको थियो। अहिले ढुंगानाकी छोरी रेबिका ढुंगानाको नाममा सर्वोत्तम सिमेन्टको करिब १२ हजार कित्ता सेयर रहेको छ  ।


अध्यक्ष ढुङगानामाथि पदको दुरुपयोग गरी सर्वोत्तमबाहेक अन्य कम्पनीको समेत सेयरको भित्री कारोबार गरेको आरोप छ । सो विषयमा अर्थ मन्त्रालयले बनाएको समितिले अध्ययन गरी एक प्रतिवेदन समेत तयार पारेको थियो। समितले अर्थमन्त्री जनार्दन शर्मालाई बुझाएको उक्त प्रतिवेदन शर्माले मन्त्रिपरिषदमा पेश गरेका थिए । प्रतिवेदन अध्ययन गरी सोमबार बसेको मन्त्रिपरिषद बैठकले ढुंगानासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। ढुङ्गानाले दिएको जवाफ चित्त नबुझेमा सरकारले उनलाई बोर्डको अध्यक्षबाट हटाउने तथा कानुन बमोजिमका अन्य कारबाही समेत अघि बढाउन सक्ने बताइएको छ ।
 

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय