नयाँ बीमा कम्पनीलाई लाइसेन्स दिने तयारी, लघु बीमा कम्पनी पनि खोल्ने


काठमाडौं–बीमा समितिले जीवन र निर्जीवन छुट्टा छुट्टै लघु बीमा कम्पनीको लागि लाइसेन्स खोल्ने तयारी गरेको छ । बीमा समितिका एक उच्च अधिकारीका अनुसार बीमा ऐनमा एउटै कम्पनीले जीवन र निर्जीवन बीमा व्यवसाय गर्न नपाउने व्यवस्था भएकाले अव आउने लघु बीमामा पनि त्यहि नियम लागु हुन्छ ।


बीमा ऐन २०४९ कै कारण राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनी छुटिनु परेको थियो । त्यस्तै नेशनल लाइफ र एनएलजी पनि छुट्टिनु परेको थियो । ऐन अनुसार लघु बीमाको हकमा पनि जीवन र निर्जीवन दुबै किसिमको व्यसाय गर्न पाइदैन । समितिका ति अधिकारीले भने ‘लघु बीमाको लागि दुबै किसिमको व्यवसाय गर्न पाउने व्यवस्था गरिदिन पाए त हुने हो तर ऐनले दिदैन ।’


समितिले नेपालमा बहुसंख्यक नेपाली गरिवीको रेखामुनी रहेको र लघु बीमा मार्फत उनिहरुमा बीमाको पहुँच पुर्याउनु पर्ने भन्दै लघु बीमाको लाइसेन्स खुला गर्ने तयारी गरेको हो । केहि समय अगाडी निर्देशक शुसिल देव सुवेदीको संयोजकत्वमा नेपालमा लघु बीमाको अवस्थाको विषयमा अध्ययन गरिएको थियो । उक्त अध्ययनले नेपालमा लघु बीमाको पहुँच १० प्रतिशत मात्रै रहेको हुँदा लघु बीमाको पहुँच बढाउनु पर्ने देखिएको भन्दै निष्कर्षण निकालेको थियो ।


समितिले यहि अध्ययन प्रतिवेदनलाई आधार मान्दै प्रादेशिक स्तरमा केन्द्रिय कार्यालय खोल्नु पर्ने गरी लघु बीमाको लाइसेन्स खोल्ने तयारी गरेको हो । समितिले लाइसेन्स खोल्ने तयारी अन्तिम चरणमा पुर्याइसकेको हुँदा केहि समयमै सार्वजनिक सूचना मार्फत आह्वान गर्ने एक अधिकारीले जानकारी दिए । यसका लागि समितले अर्थमन्त्रालय सँग आवस्यक समन्वय समेत गरिसकेको छ ।


ऐन कानुनमा लघु बीमाको विषयमा स्पष्ट सँग केहि पनि खुलाइएको छैन ।  तर ऐनमा जीवन र निर्जीवन बीमा व्यवसाय सञ्चालनको विषय उल्लेख रहेकोले जीवन र निर्जीवनमा लघु बीमा थप गरेर कम्पनी खोल्ने पक्षमा बीमा समिति रहेको छ । लघु थपेर जीवन र निर्जीवन व्यवसायका लागि कम्पनी खोल्दा नयाँ कानुन बनाउनु पर्ने झण्झट पनि नहुने समितिको बुझाइ छ । लघु बीमाको लाइसेन्सका लागि बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका संसोधन गरे पुग्नेछ ।


समितिले लघु बीमाको लागि न्युनतम चुक्ता पूँजी ५० करोड रुपैयाँ हुने पर्ने अडान लिए पनि मन्त्रालयले २५ करोड मात्रै कायम गर्न सुझाव दिदै आएको छ । यदि जीवन र निर्जीवन छुट्टा छुट्टै लघु बीमा आयो भने संख्या पनि थपिने ति अधिकारीले जानकारी दिए ।
 

प्रतिक्रिया