चालु आर्थिक वर्षका नौ महिनामा बैंक तथा वित्तीय संस्थाहरूले सेयर कर्जाको रूपमा ३४ अर्ब २ करोड ८३ लाख रुपैयाँ थप रूपमा प्रवाह गरेका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३७.८ प्रतिशतले बढी हो। तर, यति ठूलो कर्जा वृद्धि हुँदासमेत सेयर बजार भने अपेक्षित रूपमा वृद्धि हुन सकेको छैन।
राष्ट्र बैंकका अनुसार साउनदेखि चैतसम्म सबैभन्दा धेरै वृद्धि ठूला कर्जामा देखिएको छ। १ करोड रुपैयाँभन्दा बढीको कर्जा ५१.४% ले वृद्धि भएको छ, जबकि ५० लाखदेखि १ करोडसम्मको कर्जा १९.४% ले बढेको छ।
राष्ट्र बैंकले व्यक्तिगत लगानीकर्ताका लागि सेयर कर्जामा अधिकतम सीमा १५ करोड तोकेको छ भने संस्थागत लगानीकर्ताका लागि यस्तो सीमा हटाएको छ। जानकारहरूका अनुसार ठूला लगानीकर्ताले लिएको कर्जा अन्य क्षेत्रमा खर्च गरेकाले बजारमा सकारात्मक प्रभाव देखिएको छैन।
नेपाल स्टक ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष भरत रानाभाटका अनुसार मार्जिन कर्जाका नाममा लिइएको रकम सेयरभन्दा बाहिर पनि प्रयोग भइरहेको छ। बैंकहरू सेयर धितोमा कर्जा दिन उत्साहित देखिए पनि ती कर्जाहरू वास्तवमै सेयरमै लगानी भएको हो भन्ने प्रमाण छैन।
अर्का एक पूर्वअध्यक्षका अनुसार, बजारबाट पुँजीगत कर र सेयर बिक्रीका कारण रकम बाहिरिएको छ, जसले गर्दा कर्जा वृद्धि भए पनि बजार बढ्न सकेको छैन।
यसबीच, ब्याजदर ४६ महिनायताकै न्यून बिन्दुमा झरेको छ भने कर्जाको माग भने कम नै छ। यसकारण बैंकहरू लगानीकर्तालाई कर्जा लिन आग्रह गरिरहेका छन्। तर, सकारात्मक खबर र नीतिगत स्थायित्व नहुँदासम्म लगानीकर्ताको आत्मविश्वास फर्कन नसक्ने जानकार बताउँछन्।
कांग्रेस–एमालेको गठबन्धनबाट बनेको सरकार आर्थिक विकासलाई प्राथमिकतामा राख्ने भनिए पनि अपेक्षित सुधार नआएकोले बजार पुनः ओरालो लागेको हो। असार अन्त्यमा २ हजारको आसपास रहेको नेप्से साउनको अन्त्यमा ३ हजार पुगे पनि त्यसपछि बजार फेरि ओरालो लागेको छ। अहिले नेप्से परिसूचक २५ सयदेखि २७ सयको बीचमा सीमित छ।
कर्जा सीमा | २०७९/८० मा वृद्धिदर | २०८०/८१ मा वृद्धिदर |
---|---|---|
२५ लाखभन्दा कम | ४.९% | ८.६% |
२५–५० लाख | ११% | १५.१४% |
५० लाख–१ करोड | २% | १९.४% |
१ करोडभन्दा बढी | १७.७% | ५१.४% |