काठमाडौं – चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपाल विद्युत् प्राधिकरणले नौ अर्ब ११ करोड रुपैयाँ नाफा कमाएको छ। यो कर कट्टी गर्नुअघि भएको नाफा हो। साउनदेखि असोज मसान्तसम्म प्राधिकरणको कुल आम्दानी ४१ अर्ब ८० करोड रुपैयाँ रहेको छ भने खर्च ३२ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ।
प्राधिकरणले सो अवधिमा २८ अर्ब ९५ करोड रुपैयाँ बराबरको विद्युत् बिक्री गरेको छ। विभिन्न वितरण केन्द्रमार्फत् संकलित रकम २६ अर्ब ७७ करोड रुपैयाँ रहेको छ। प्राधिकरणले आफ्ना र सहायक कम्पनीहरूबाट ८७ करोड ५२ लाख युनिट बिजुली खरिद गरेको छ भने निजी उत्पादक कम्पनीबाट ३ अर्ब २२ करोड ९५ लाख युनिट खरिद गरी जम्मा ४ अर्ब १० करोड ४७ लाख युनिट बिजुली खरिद गरेको हो। त्यसका लागि २१ अर्ब नौ करोड रुपैयाँ भुक्तानी गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए।
असोजको दोस्रो साता बाढीका कारण अपेक्षित निर्यात हुन नसके पनि सो अवधिमा भारतबाट बिजुली आयात गर्न भने परेको छैन। प्राधिकरणले सोही अवधिमा भारततर्फ एक अर्ब ४० करोड ६१ लाख युनिट बिजुली निर्यात गरी १० अर्ब ८८ करोड रुपैयाँ आम्दानी गरेको छ।
नेपाल सरकार र वैदेशिक सहयोगमार्फत् प्राप्त १६ अर्ब ९३ करोड रुपैयाँमध्ये १० अर्ब ८८ करोड रुपैयाँ आयोजनाहरूमा खर्च गरिएको छ। विद्युतीकरण तथा अन्य पूर्वाधारका लागि गरिएको खर्चले आगामी उत्पादन र आपूर्ति प्रणालीलाई थप सुदृढ बनाउने प्राधिकरणको दाबी छ।