बागलुङ — बढ्दो बसाइँसराइका कारण बागलुङ जिल्लाको जैमिनी नगरपालिकाका ग्रामीण बस्तीहरू सुनसान बन्दै गएका छन्। स्थानीयहरूले तीव्र रूपमा गाउँ छोड्न थालेपछि खेतीयोग्य जमिन बाँझिँदै गएका छन् भने घरहरू जीर्ण हुँदै गएका छन्। सेवा–सुविधाको खोजीमा गाउँ छाडेर शहरतर्फ जाने प्रवृत्ति बढिरहेका बेला जैमिनी नगरपालिकालाई जिल्लामै सबैभन्दा बढी बसाइँसराइ हुने पालिकाका रूपमा लिइएको छ।
नगरपालिकाका अनुसार पछिल्लो दुई वर्षको अवधिमा ४८२ घरपरिवारका एक हजार ७०९ जनाले गाउँ छाडेका छन्। आर्थिक वर्ष २०८० मा २६३ घरपरिवारका ९४७ जनाले बसाइँ सरेका थिए भने २०८१ मा २१९ घरपरिवारबाट ७६२ जनाले गाउँ छोडेका छन्। यसै अवधिमा २६ घरपरिवारका ८६ जना मात्र बाहिरबाट आएर जैमिनीमा बसोबास गरेका छन्। तीमध्ये २०८० मा ९ घरपरिवारका ४२ जना र २०८१ मा १७ घरपरिवारका ४४ जना आएका हुन्।
नगरपालिकाको पञ्जिकरण शाखा प्रमुख ताराप्रसाद पौडेलका अनुसार सबैभन्दा धेरै बसाइँसराइ वडा नम्बर ८ बाट भएको छ। दुई वर्षमा सो वडाबाट १०७ घरपरिवारका ४०३ जना गाउँ छोडेका छन्। त्यस्तै, वडा नम्बर १ बाट ४२ घरका १५७ जना, वडा नम्बर २ बाट ७७ घरका २५८ जना, वडा नम्बर ३ बाट ३४ घरका १०० जना र वडा नम्बर ४ बाट ५२ घरका १९१ जना बसाइँसरेका छन्। वडा नम्बर ५ बाट २४ घरका ८३, वडा नम्बर ६ बाट १४ घरका ५५, वडा नम्बर ७ बाट ५४ घरका १८६, वडा नम्बर ९ बाट ३९ घरका १२९ र वडा नम्बर १० बाट ३९ घरका १४७ जनाले बसाइँ सरिसकेका छन्।
उनीहरू मुख्यतः चितवन, नवलपरासी र बुटवलतर्फ सरेको पौडेलले बताए। बसाइँसराइको दर उच्च रहे पनि नगर उपप्रमुख हरिहर शर्माले यसलाई न्यूनीकरण गर्न नगरपालिकाले गाउँमै उद्यमशीलता प्रवर्द्धन गर्ने कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए।
उनका अनुसार बस्तीबस्तीसम्म सडक, खानेपानी, विद्युत्, स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी बढाइएको छ। “मानिसका चाहना असीमित हुन्छन्, स्थानीय सरकारले सक्दो विकास गरिरहेको छ,” शर्माले भने, “हुन सक्छ सबै सुविधा पुग्न सकेको छैन तर पहिलेभन्दा निकै परिवर्तन आएको छ। अहिले गाउँमा गाडी गुड्छन्, खानेपानीको सुविधा छ, शिक्षा र स्वास्थ्यमा ठूलो लगानी गरेका छौँ। हुनेखाने वर्ग सहर रोज्न थालेका छन् तर गाउँमा बसेकालाई गुणस्तरीय सेवा दिन हामी प्रतिबद्ध छौँ।”
उनले नागरिकलाई आत्मनिर्भर बनाउन आय आर्जनसँग जोडिएका कार्यक्रमलाई प्राथमिकता दिइएको बताए।