मिनु पोखरेल, काठमाडौं - के तपाईं चुरोट वा खैनीजन्य पदार्थको लतमा हुनुहुन्छ ? यदि हो भने, आजको सूचना प्रविधिको सहज पहुँच भएको समयमा पनि तपाईंले सुर्ति तथा सुर्तिजन्य पदार्थले हाम्रो जीवनमा पार्ने असरबारे थाहा नपाउनु दुर्भाग्यपूर्ण हुनेछ।
किनभने आजको मितिसम्म विश्वभर ८० लाखभन्दा बढी मानिसहरू सुर्तिजन्य पदार्थको सेवनबाट मृत्यु गरिरहेका छन्। तपाईं भन्नुहोला, "म त चुरोट खान्न।" तर तपाईं स्वयंले सेवन नगरे पनि १.२ मिलियन मानिसहरू दोस्रो व्यक्तिले खाएको चुरोटको असरले मृत्यु हुने गरेका छन्। यो तथ्य विश्व स्वास्थ्य संगठनको हो, जुन संगठनको वेबसाइटमा गएर पनि हेर्न सकिन्छ।
उक्त अध्ययन अनुसार, विश्वभर १.३ अर्ब मानिसहरूले चुरोट, गुट्का आदि सुर्तिजन्य पदार्थको प्रयोग गरिरहेका छन्। यस्तो पदार्थमा मात्र हरेक वर्ष १.४ ट्रिलियन अमेरिकी डलर बराबरको खर्च भइरहेको छ, जुन विश्वको कुल गार्हस्थ उत्पादन (GDP) को १.८ प्रतिशत बराबर हो।
तर यसको असर आर्थिक पक्षमै सीमित छैन, यसले मानिसको मानसिक स्वास्थ्यमा समेत गहिरो असर पारिरहेको हुन्छ। तथ्यांक अनुसार, हाल विश्वभर एक अर्ब मानिसहरू मानसिक समस्याको सामना गरिरहेका छन्, जुन विश्वको कुल जनसंख्याको १३ प्रतिशत हो। तीमध्ये आधाजसोले कुनै न कुनै प्रकारको सुर्तिजन्य पदार्थ प्रयोग गर्ने गरेको पाइन्छ।
र, मानसिक समस्याबाट पीडित सुर्तिजन्य पदार्थ प्रयोगकर्ताहरू, प्रयोग नगर्ने मानसिक रोगीहरूको तुलनामा २० वर्ष छिट्टै मृत्यु हुने तथ्याङ्कले देखाएको छ। किनभने उनीहरू मानसिक रूपमा कमजोर त हुन्छन् नै, त्यसमाथि सुर्तिजन्य पदार्थले रोगसँग लड्ने शारीरिक क्षमता नै समाप्त पारिदिन्छ।
अब तपाईं सोच्दै हुनुहुन्छ होला, "यो त सबै नकारात्मक कुरा मात्र पो भयो!" तर होइन, सुर्तिजन्य पदार्थ त्याग गरेपछि धेरै प्रकारका मानसिक समस्या तत्कालै सुधार हुने विज्ञहरूले बताएका छन्। कारण हो, सुर्तिजन्य पदार्थमा हुने निकोटिनले हाम्रो स्नायुलाई असर पुर्याउँछ र बिस्तारै बौद्धिक क्षमतामा समेत क्षति पुर्याउँछ। यसबारे थप जानकारी विश्व स्वास्थ्य संगठनको वेबसाइटमा पनि प्राप्त गर्न सकिन्छ।
अब अर्को प्रश्न हुनसक्छ, नेपालमा सुर्तिजन्य पदार्थको प्रयोग कस्तो छ त ? म जोखिममा छु कि छैन ?
सन् २०१९ मा नेपालमा गरिएको सर्वेक्षण अनुसार, १५ देखि ६९ वर्ष उमेर समूहका २८.९ प्रतिशत वयस्कले कुनै न कुनै प्रकारको सुर्तिजन्य पदार्थ प्रयोग गर्ने गरेका छन्, भने १७.१ प्रतिशतले धूम्रपान गर्ने गरेका छन्। तीमध्ये अधिकांश प्रयोगकर्ता पुरुष हुन्।
नेपालमा हरेक वर्ष सुर्तिजन्य पदार्थको सेवनका कारण २७ हजार मानिसको मृत्यु हुने गरेको छ, जुन कुल जनसंख्याको करिब १४ प्रतिशत हो। यो सानो संख्या होइन। साथै, सुर्तिजन्य पदार्थमा हुने खर्च नेपालका कुल गार्हस्थ उत्पादनको १.०४ प्रतिशत पुग्ने गरेको छ, जुन लगभग ३०० मिलियन अमेरिकी डलर बराबर हो — हाम्रोजस्तो सानो अर्थतन्त्रका लागि यो अत्यन्त ठूलो बोझ हो।
नेपाल सरकारले २०११ सालमै सार्वजनिक स्थानमा धूम्रपान गर्न निषेध गरिएको कानुन ल्याएको हो, तर त्यो कार्यान्वयनमा आउन सकेको छैन। केही समयअघि काठमाडौं महानगरका मेयर बालेन शाहले सार्वजनिक स्थानमा बिक्री र प्रयोगमा रोक लगाउने निर्णय गरे पनि, अदालतले स्थगन आदेश जारी गरेपछि त्यसले मूर्तरूप लिन सकेन।
नेपालमा सुर्तिजन्य पदार्थमा लगाइएको कर दक्षिण एशियाकै न्यूनतममध्ये एक हो। उदाहरणका लागि, भारतमा चुरोटमा ५३ प्रतिशत कर छ, पाकिस्तानमा ४८ प्रतिशत, तर नेपालमा मात्र ३३ प्रतिशत।
यी सबै तथ्यांकले के देखाउँछन् भने हामी जानकार छौं — सुर्तिजन्य पदार्थ हानिकारक छन् भनेर — तर त्यसको प्रयोग गर्न भने पछि पर्दैनौं। यही कारणले हामी आर्थिक, सामाजिक र मानसिक रूपमा पछाडि पर्न पुग्छौं।
अन्त्यमा, यो अवस्था परिवर्तन गर्न व्यक्तिले आफू सचेत बन्नु जरुरी छ, र परिवारभित्रका सदस्यलाई सचेत गराउनु जरुरी छ। साथै, राज्यले पनि यस भयावह अभ्यासलाई नियन्त्रण गर्न ठोस कदम चाल्न आवश्यक छ।