कारोबार रकम घटे पनि शेयर बजारमा हरियाली

काठमाण्डौ । निरन्तर ओरालो लागेको शेयर बजार मंगलबार भने हरियाली छाएको छ । शेयर बजार बढेपनि कारोबार रकममा भने अझै सुधार हुन सकेको छैन । 

आज नेप्से परिसूचक दोहोरो अंकले बढ्दा व्यापारबाहेक अन्य १२ वटै उपसमूह उकालो लागेको छ । 


नेपाल स्टक एक्सचेञ्जका अनुसार  सेयर कारोबार मापक नेप्से परिसूचक ४१।८४ अंकले बढेर २६१२।६५ मा पुगेको छ । नेप्से १।६३ प्रतिशतले बढेको हो । यस्तै सेन्सेटिभ परिसूचक ७।०४ अंकले बढेर ४९२।०२ मा पुगेको छ ।

कूल २२३ वटा कम्पनीको ५८ करोड ४२ लाख एक सय ३५ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ९९ करोड ६८ लाख १९ हजार ६ सय ८३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये व्यापारबाहेक बाँकी सबै उपसमूहको सूचक बढेको छ । सबैभन्दा धेरै फाइनान्स समूह ४।१६ प्रतिशत अर्थात् ८६।९८ अंकले बढेको छ । 

मंगलबार शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको १३ करोड ६६ लाख रूपैयाँको कारोबार भएको हो ।

मंगलबार मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै कमाउँदा एनआईसी एशिया लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । मंगलबार ३ कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेड, हिमालयन पावर पार्टनर र समता लघुवित्तको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो ।

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय