निर्जीवन बीमा कम्पनीको नाफामा ३९ प्रतिशत गिरावट

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूको खुद नाफामा उल्लेख्य गिरावट आएको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष १४ वटा निर्जीवन बीमा कम्पनीको समग्र खुद नाफा ३९.२१ प्रतिशतले घटेको हो।

कम्पनीहरूले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा १४ वटा निर्जीवन बीमा कम्पनीले कुल २ अर्ब ७९ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। अघिल्लो आर्थिक वर्षमा यी कम्पनीहरूको कुल खुद नाफा ४ अर्ब ५९ करोड २२ लाख रुपैयाँ रहेको थियो। एक वर्षमै कम्पनीहरूको समग्र नाफा करिब १ अर्ब ८० करोड रुपैयाँले घटेको देखिन्छ।

नाफामा आएको गिरावटबीच ओरियन्टल इन्स्योरेन्सले भने उल्लेख्य सुधार गरेको छ। अघिल्लो आर्थिक वर्षमा ११ करोड ७६ लाख रुपैयाँ नोक्सानमा रहेको कम्पनीले गत आर्थिक वर्षमा ४९ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यससँगै समीक्षा अवधिमा सबैभन्दा बढी खुद नाफा कमाउने निर्जीवन बीमा कम्पनी ओरियन्टल बनेको छ।

यता नेसनल इन्स्योरेन्स भने नोक्सानमा रहेको एकमात्र कम्पनी बनेको छ। अघिल्लो आर्थिक वर्षमा १५ करोड ७ लाख रुपैयाँ घाटामा रहेको कम्पनीले गत आर्थिक वर्षमा १३ करोड १० लाख रुपैयाँ नोक्सान व्यहोरेको छ। यद्यपि अघिल्लो वर्षको तुलनामा कम्पनीको घाटा केही घटेको छ।

नाफा कमाउने कम्पनीमध्ये प्रभु इन्स्योरेन्सले मात्रै अघिल्लो वर्षको तुलनामा सुधार गरेको छ। कम्पनीको खुद नाफा १९.७१ प्रतिशतले बढेर २४ करोड ६४ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा प्रभु इन्स्योरेन्सले २० करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

ओरियन्टलपछि सलिकोले ३७ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ। तर, कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा ३२.७५ प्रतिशतले घटेको छ। राष्ट्रिय बीमा कम्पनीको खुद नाफा १९.४६ प्रतिशतले घटेर ३४ करोड ४४ लाख रुपैयाँमा सीमित भएको छ।

त्यस्तै, हिमालयन एभरेस्ट इन्स्योरेन्सले ३३ करोड ७८ लाख, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३२ करोड ६८ लाख र नेको इन्स्योरेन्सले २८ करोड ८३ लाख रुपैयाँ खुद नाफा कमाएका छन्। यी तीन कम्पनीको नाफा क्रमशः ३६.५३ प्रतिशत, ५६.७५ प्रतिशत र ५०.१९ प्रतिशतले घटेको छ।

प्रतिशतका आधारमा सबैभन्दा ठूलो गिरावट आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफामा देखिएको छ। अघिल्लो आर्थिक वर्षमा ३६ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा ९८.८९ प्रतिशतले घटेर ४० लाख ३८ हजार रुपैयाँमा झरेको छ।

शिखर इन्स्योरेन्सको खुद नाफा ७१.२२ प्रतिशतले घटेर करिब १३ करोड रुपैयाँमा सीमित भएको छ। त्यस्तै, सानिमा जिआईसी इन्स्योरेन्सको नाफा ६१.३९ प्रतिशतले घटेर करिब १३ करोड रुपैयाँ तथा नेपाल इन्स्योरेन्सको नाफा ५९.६९ प्रतिशतले घटेर १२ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ।

यस्तै, युनाइटेड अजोड इन्स्योरेन्सको नाफा ६४.५५ प्रतिशतले घटेर ६ करोड ३० लाख रुपैयाँ तथा एनएलजी इन्स्योरेन्सको नाफा ६२.३१ प्रतिशतले घटेर ५ करोड ७८ लाख रुपैयाँमा सीमित भएको छ।

यसरी हेर्दा निर्जीवन बीमा क्षेत्रमा अधिकांश कम्पनीको नाफा घटेको छ। केही कम्पनीले नाफामा सुधार गरे पनि ठूला कम्पनीको नाफामा आएको गिरावटका कारण समग्र क्षेत्रकै खुद नाफा उल्लेख्य रूपमा खुम्चिएको वित्तीय विवरणले देखाएको छ।

निर्जीवन बीमा कम्पनीको खुद नाफा विवरण

कम्पनी २०८१/८२ २०८२/८३ फरक %
ओरियन्टल इन्स्योरेन्स ४९ करोड ४ लाख -११ करोड ७६ लाख
सलिको ३७ करोड ५६ लाख ५६ करोड ५६ लाख -३२.७५
राष्ट्रिय बीमा कम्पनी ३४ करोड ४४ लाख ४२ करोड ७० लाख -१९.४६
हिमालयन एभरेस्ट ३३ करोड ७८ लाख ५३ करोड २३ लाख -३६.५३
सिद्धार्थ प्रिमियर ३२ करोड ६८ लाख ७५ करोड ५९ लाख -५६.७५
नेको इन्स्योरेन्स २८ करोड ८३ लाख ५८ करोड ५८ लाख -५०.१९
प्रभु इन्स्योरेन्स २४ करोड ६४ लाख २० करोड ५८ लाख १९.७१
शिखर १३ करोड ४२ करोड ७० लाख -७१.२२
सानिमा जिआईसी १३ करोड ३३ करोड ७६ लाख -६१.३९
नेपाल इन्स्योरेन्स १२ करोड ७५ लाख ३१ करोड ६४ लाख -५९.६९
युनाइटेड अजोड ६ करोड ३० लाख १७ करोड ८० लाख -६४.५५
एनएलजी इन्स्योरेन्स ५ करोड ७८ लाख १४ करोड ३३ लाख -६२.३१
आइजिआई प्रुडेन्सियल ४० लाख ३८ हजार ३६ करोड ४९ लाख -९८.८९
नेसनल इन्स्योरेन्स -१३ करोड १० लाख -१५ करोड ७ लाख
कुल २ अर्ब ७९ करोड १५ लाख ४ अर्ब ५९ करोड २२ लाख -३९.२१

प्रतिक्रिया

ताजा समाचार

लोकप्रिय