काठमाडौं – देशभित्रै स्तरीय विश्वविद्यालय र शैक्षिक संस्थान सञ्चालनमा रहे पनि विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीको सङ्ख्या लगातार बढिरहेको छ।
नेपाल राष्ट्र बैंकको पछिल्लो विवरणअनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपाली विद्यार्थीले विदेशी शैक्षिक कार्यक्रमका लागि ४७ अर्ब ३४ करोड रुपैयाँ खर्च गरेका छन्।
सर्वसाधारणको विदेशी भ्रमणसम्बन्धी खर्च १२.२ प्रतिशतले वृद्धि भई ८५ अर्ब एक करोड रुपैयाँ पुगेको छ। योमध्ये ४७ अर्ब ४१ करोड रुपैयाँ शिक्षा क्षेत्रमा खर्च भएको छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय ७५ अर्ब ७३ करोड रुपैयाँ रहेको थियो।
गत मङ्सिर मसान्तसम्म खुद सेवा आय ४० अर्ब ७१ करोड रुपैयाँले घाटामा रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ। अघिल्लो वर्षको यही अवधिमा खुद सेवा आय घाटा २६ अर्ब ५५ करोड थियो।
त्यस्तै, सेवा खाताअन्तर्गत भ्रमण आय तीन दशमलव एक प्रतिशतले वृद्धि भएर ३५ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस अवधिमा भ्रमण आय ३४ अर्ब १२ करोड थियो।