लगानीकर्ता आत्तिने गरि शेयर बजार घटेर २ हजारको विन्दुमा

काठमाडौं । निरन्तर ओरालो लागेर शेयर बजार २ हजारको विन्दुमा आएको छ । 

शुक्रबार बजारले सबैले भनेको २१ सयको मनोवैज्ञानिक विन्दुलाई पनि छाडेर तल आएको हो । यस दिन नेप्से सूचक ३३।७६ अंकले घटेर २०७८।७० विन्दुमा आएको छ । १ अर्ब ३० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सबै समूह राताम्य भएका छन् । नेप्से एकतर्फीरुपमा अनि निरन्तर हिसाबले तल झरिरहेको छ । यसबीचमा लगानीकर्ताले बजारबाट खरबौं रुपैयाँ गुमाइसकेका छन् ।

नेप्से सूचकमा ११ सय अंक भन्दा पनि बढीको गिरावट आइसकेको छ । राष्ट्र बैंकको गलत नीतिका कारण लगातार घटिरहेको बजार सुधार्नेतर्फ अहिलेसम्म कुनै पनि पहल भएको छैन । सरकार र नियामक निकायहरु चुपचाप बसिरहेको अवस्था छ । यसबीचमा साना र नयाँमात्र नभई ठूला र अनुभवी लगानीकर्ताहरुले समेत खरबौं रुपैयाँ गुमाइसकेको अवस्था छ ।

लगातार बजार तल झरिरहँदा पनि सुधार्नका लागि कुनै पहल नहुँदा आम लगानीकर्ता निकै प्रताडित भएका छन् । सरकार तथा नियामक आँखा चिम्लेर बसेका छन् । लगानीकर्ताले खरबौं रुपैयाँ गुमाउँदासमेत सुधारका कुनै कार्यक्रम आएको छैन । कमजोर कम्पनीमात्र होइन, सबल वित्तीय सूचक भएकै कम्पनीहरुको मूल्य पनि यसबीचमा ७०५ भन्दा बढीले घटिसकेको छ । यसआधारमा बजार करिब १० महिनाको अवधिमा अस्वभाविकरुपमै घटेको भन्न सकिन्छ ।  
 
पछिल्लो समय मौद्रिक नीति समीक्षा र बजेट पनि सार्वजनिक भइसकेपछि लगानीकर्ता थप प्यानिक हुने अवस्था आएको छ । अहिले बजार झनै तीब्रदरमा घटिरहेको छ । मौद्रिक नीति समीक्षा र बजेटमा बजारका समस्या सम्बोधन हुने अपेक्षामा लगानीकर्ता रहेका थिए । तथापि, बजेटमा पुँजी बजार सुधारका थुप्रै कार्यक्रम आएका छन् । तर ती कार्यक्रमहरुमा ठोस र तत्काल कार्र्यान्वयन हुने किसिमका नभएको लगानीकर्ताहरुको भनाई छ ।

प्रतिक्रिया