अमेरिका पुगेका कागजात विहीन २३ नेपाली निष्कासन, मानव तस्करीको संलग्नताबारे अनुसन्धान

अमेरिकी प्रशासनले पछिल्लो समय कागजातविहीन आप्रवासीलाई निष्कासन गर्ने अभियान तीव्र पार्दै गर्दा हालसम्म २३ जना नेपाली नागरिक अमेरिकाबाट डिपोर्ट भएका छन्। तीमध्ये ४ महिला र १९ पुरुषलाई काठमाडौं ल्याई अध्यागमनको जिम्मा लगाइएको छ।

अमेरिकी सरकारको इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्ट (आईसीई) मार्फत निष्कासनमा परेका नेपालीहरूको सूची वासिङ्टन डिसीस्थित नेपाली राजदूतावासलाई बुझाइएको थियो। त्यसपछि दूतावासले आवश्यक ट्राभल डकुमेन्ट बनाएर उनीहरूलाई नेपाल फर्काइएको हो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमनले आवश्यक प्रक्रिया पूरा गरी उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाएको छ।

अध्यागमन प्रमुख तीर्थराज भट्टराईका अनुसार गत जनवरी २२ यता २३ नेपाली नागरिक अमेरिकाबाट निष्कासनमा परेका छन्। फेब्रुअरी १७ मा एक जना थप नेपाली काठमाडौं आइपुगेका छन्। अध्यागमनका अनुसार जनवरी २२ देखि फेब्रुअरी १७ सम्म विभिन्न मितिमा नेपालीहरू फिर्ता भएका छन्।

नेपाल प्रहरीले अमेरिका पुग्न मानव तस्करहरूको संगठित गिरोहको संलग्नता रहेको भन्दै डिपोर्ट भएका व्यक्तिहरूसँग सोधपुछ गरिरहेको जनाएको छ। प्रहरी प्रवक्ता डीआईजी दिनेश आचार्यका अनुसार नेपाली नागरिकहरूलाई एसिया, अफ्रिका र युरोपका विभिन्न रुट हुँदै दक्षिण अमेरिका मार्फत अमेरिका पुर्याउने गिरोह सक्रिय छ।

सन् २०२१ देखि २०२४ सम्म अमेरिकाबाट १४० नेपाली डिपोर्ट भएका थिए। सन् २०२४ मा मात्रै ५३ जना नेपाली अमेरिका निष्कासनमा परेका छन्। अमेरिकी आईसीईले विशेषगरी २०१५ पछि अमेरिका प्रवेश गरेका र बसोबासको अनुमति नभएकाहरूलाई निष्कासन अभियानमा राखेको छ। यस सूचीमा करिब १,३०० नेपाली रहेको अनुमान गरिएको छ।

आईसीईले नेपालसहित विभिन्न देशका १४ लाख ४५ हजारभन्दा बढी कागजातविहीन आप्रवासीलाई निष्कासन गर्ने सूची सार्वजनिक गरिसकेको छ। अमेरिकामा सबैभन्दा बढी मेक्सिको, एल साल्भाडोर, भारत, ग्वाटेमाला, होन्डुरस र भेनेजुएलाका नागरिक अवैधानिक रूपमा बसोबास गरिरहेको बताइएको छ।

प्रतिक्रिया