दक्षिण कोरियामा आइतबार १८१ जना सवार विमान दुर्घटनाग्रस्त हुँदा २८ जनाको मृत्यु भएको छ। रनवेमा अवतरणको क्रममा विमान चिप्लिएर बाहिर जाँदा यो ठूलो दुर्घटना भएको हो।
रायटर्सका अनुसार, दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको विमान रनवेबाट चिप्लिएर दुर्घटनाग्रस्त भएको हो। उक्त विमानमा १७५ यात्रु र ६ फ्लाइट अटेन्डेन्ट सवार थिए। विमान बैंककबाट फर्किंदै थियो र अवतरणको क्रममा बिहान ९:०७ बजे दक्षिण–पश्चिमी तटीय विमानस्थलमा दुर्घटना भएको हो।
स्थानीय सञ्चारमाध्यमले देखाएका तस्बिरहरूमा विमानबाट धूवाँ निस्किरहेको देख्न सकिन्छ। योन्हाप न्यूज एजेन्सीका अनुसार, विमान रनवेबाट चिप्लिएर बारमा ठोक्किएको थियो। उद्धार कार्य जारी रहेको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।
अपडेट
काठमाडौं । दक्षिण कोरियामा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।
१ सय ७५ जना यात्री र ६ जना चालकदलका सदस्य रहेको जेजु एयरको विमान आज विहान अवतरणका क्रममा दुर्घटना भएको थियो ।
योनहाप समाचार समितिका अनुसार थाइल्याण्डको राजधानी बैङ्ककबाट कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा धावनमार्गमा चिप्लिएर पर्खालमा ठोक्किएको थियो ।