साउनमा २ खर्ब १५ अर्ब रेमिट्यान्स, शोधनान्तर ९० अर्ब बचत

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा नेपालको शोधनान्तर स्थिति ९० अर्ब ३४ करोड रुपैयाँले बचतमा रहेको छ । रेमिट्यान्स आप्रवाह, निर्यात र प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा सुधार आएपछि शोधनान्तर स्थिति बचतमा देखिएको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको साउनमा निर्यात ६१.७ प्रतिशतले बढेर ३८ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । यस अवधिमा रेमिट्यान्स आप्रवाह २ खर्ब १५ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, साउनमा १ अर्ब १ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ ।

समीक्षा अवधिमा चालु खाता पनि ९४ अर्ब ५९ करोड रुपैयाँले बचतमा रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा चालु खाता ७८ अर्ब २९ करोड रुपैयाँले बचतमा थियो । अमेरिकी डलरमा गत वर्ष साउनमा ५६ करोडले बचतमा रहेको चालु खाता यस वर्ष ६२ करोड डलरले बचतमा रहेको छ ।

चालु आवको साउनमा खुद पूँजीगत ट्रान्स्फर ६३ करोड रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा यस्तो ट्रान्स्फर १ अर्ब ४ करोड रुपैयाँ थियो । समीक्षा अवधिमा भित्रिएको १ अर्ब १ करोड रुपैयाँको एफडीआईमध्ये इक्विटी लगानी रहेको छ । गत आवको सोही अवधिमा इक्विटीमार्फत ६९ करोड रुपैयाँ एफडीआई भित्रिएको थियो ।

गत आर्थिक वर्षको साउनमा शोधनान्तर स्थिति ८९ अर्ब ३० करोड रुपैयाँले बचतमा रहेको थियो । यस वर्ष सोही अवधिमा शोधनान्तर बचत बढेर ९० अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा भने गत वर्ष ६४ करोड डलरले बचतमा रहेको शोधनान्तर स्थिति यस वर्ष ५९ करोड डलरले बचतमा रहेको छ ।

प्रतिक्रिया