काठमाडौँ उपत्यकामा चिसो निरन्तर बढिरहेको छ। मौसमविद्हरूका अनुसार यो क्रम जारी रहने छ। यद्यपि, यहाँको मौसम सफा रहने अनुमान गरिएको छ।
आज बिहान काठमाडौँको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो भने हाल त्यो ५ डिग्री सेल्सियस पुगेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। आज उपत्यकाको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। कोशी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ भने अन्य स्थानको मौसम सामान्यतया सफा छ। तर, तराई र उपत्यकाका धेरै स्थानमा हुस्सु तथा केही ठाउँमा कुहिरो लागेको छ।
दिउँसो कोशी प्रदेशमा आंशिक बदली रहँदा अन्य क्षेत्रको मौसम सफा रहनेछ। राति कोशी, मधेस, र बागमती प्रदेशमा आंशिक बदली हुने सम्भावना छ भने अन्य भागमा मौसम सफा रहनेछ।
विभागले बिहानको समयमा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, यातायात, र हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ।