काठमाडौं - नेपालले खो खो विश्वकपमा ऐतिहासिक सफलता हात पारेको छ। नेपाली महिला टोलीले फाइनलमा स्थान बनाएसँगै केही घन्टापछि पुरुष टोलीले पनि इरानलाई पराजित गर्दै फाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको छ। यो विश्वकपको फाइनलमा पुगेको नेपालको पहिलो पटकको अवसर हो।
शनिबार भारतको दिल्लीस्थित इन्दिरा गान्धी रंगशालामा भएको पुरुषतर्फको सेमिफाइनल खेलमा नेपालले इरानलाई ७२–२० को विशाल अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको हो।
यसअघि, क्वार्टरफाइनलमा नेपालले बंगलादेशलाई ६७–१८ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो। समूह चरणमा उपविजेता बनेको नेपालले ४ खेलबाट ६ अंक जोड्दै अघिल्लो चरणमा स्थान बनाएको थियो। समूह ‘ए’ मा नेपाल भारतसँग ४१–३७ ले पराजित भए पनि त्यसपछि ब्राजिललाई १३४–८, पेरुलाई ८०–३४, र भुटानलाई ९८–८ ले पराजित गर्दै फाइनलको यात्रामा अगाडि बढेको थियो।
यसअघि, नेपाली महिला टोलीले युगान्डालाई ८९–१८ ले हराउँदै फाइनलमा प्रवेश गरेको थियो। यो खेल पनि इन्दिरा गान्धी इन्डोर हलमै सम्पन्न भएको थियो।