बाग्लुङ - बागलुङस्थित धवलागिरी बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चय प्रत्यायन (क्युएए) प्रमाणपत्र प्राप्त गरेसँगै लगातार उत्कृष्ट विद्यार्थी उत्पादन गर्दै आएको छ। विशेषगरी बीबीए कार्यक्रम सञ्चालनपछि क्याम्पसले शतप्रतिशत उत्तीर्ण परिणामसहित एकपछि अर्को उत्कृष्ट विद्यार्थी तयार गरिरहेको छ।
यस वर्ष बीबीएको आठौं सेमेस्टरका विद्यार्थी लक्ष्मण रिजाल गण्डकी प्रदेशमै उत्कृष्ट भएका छन्। गत वर्ष प्रतिक्षा गौतम नेपाल टप भएकी थिइन्। क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायका अनुसार, हरेक सेमेस्टरमा उत्कृष्ट नतिजा ल्याउँदै क्याम्पसले आफ्नो प्रतिष्ठा उचाइमा पुर्याएको छ।
गत असार ६ गते विश्वविद्यालय अनुदान आयोगले धवलागिरी बहुमुखी क्याम्पसलाई गुणस्तर प्रत्यायन दिने निर्णय गरेको थियो। यो प्रमाणपत्रले क्याम्पसलाई नयाँ संकाय थप्ने अधिकार दिएको छ। विज्ञान र बीबीएजस्ता संकायहरूमा उत्कृष्ट नतिजा देखिएपछि क्याम्पसको प्रतिष्ठा झन् उचाइमा पुगेको छ।
हाल क्याम्पसमा कुल प्राध्यापकहरूको ५० प्रतिशत स्थायी गरिएका छन् भने स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा आन्तरिक परीक्षा प्रणालीसमेत सञ्चालन भइरहेको छ। स्ववियु सभापति सुदीपसागर कंडेलका अनुसार, यसले क्याम्पसको गुणस्तर सुधार अभियानलाई थप गति दिएको छ।
भौतिक संरचना सुधार, पुस्तकालय, प्रयोगशाला, र प्रविधिमैत्री शिक्षणमा समेत प्रगति गर्दै धवलागिरी बहुमुखी क्याम्पस त्रिभुवन विश्वविद्यालयको नजरमा अब्बल बन्दै गएको छ।
पछिल्लो तीन वर्षमा विज्ञान, व्यवस्थापन, मानविकी, र शिक्षाका विद्यार्थीहरूले अनुसन्धानमूलक काममा सक्रियता देखाइरहेका छन्। कृषि, व्यवसाय, उद्योग, र बजारबारे विद्यार्थीहरूले अनुसन्धान गरेका छन्। क्याम्पसले आयोगद्वारा तोकिएका १०८ सूचक पूरा गरेपछि क्युएए प्राप्त गरेको हो।
हाल २ हजार विद्यार्थी अध्ययनरत यस क्याम्पसमा शिक्षा, मानविकी, र व्यवस्थापन संकायमा स्नातकोत्तर तहको पढाइ हुँदै आएको छ भने विज्ञान संकाय र बीबीएतर्फ स्नातक तहको पढाइ सञ्चालन भइरहेको छ।