प्रभु बैंकको सहायक कम्पनी प्रभु क्यापिटललाई आईपीओ निष्काशन गर्ने बाटो खोलिएको छ। नेपाल धितोपत्र बोर्डले व्यवसाय सञ्चालनको दश वर्ष पूरा भएका र कम्तिमा १ अर्ब पुँजी भएको मर्चेन्ट बैंकरलाई आईपीओ निष्काशन गर्न अनुमति दिने निर्णय गरेको छ। हाल सञ्चालनमा रहेका मर्चेन्ट बैंकरमध्ये यस्तो मापदण्ड पुरा गर्ने कम्पनी प्रभु क्यापिटल मात्र रहेको हुँदा, यसैक्रममा उक्त कम्पनीलाई आईपीओ निष्काशनको लागि स्वीकृति प्रदान गरिएको छ। धितोपत्र बोर्डले शेयर निष्काशन गर्दा ३० प्रतिशतभन्दा कम नहुने सुनिश्चित गर्ने व्यवस्था पनि राखेको छ।
प्रभु क्यापिटलको चुक्ता पुँजी हाल १ अर्ब २० करोड रहेको छ, जसमा प्रभु बैंकको ५६.७९ प्रतिशत लगानी छ। बाँकी ४३.२१ प्रतिशत शेयर प्राइम कमर्शियल बैंक, कामना सेवा विकास बैंक, ज्योति विकास बैंक, गोर्खाज फाइनान्स, पोखरा फाइनान्स, क्यालिबर इन्भेष्टमेन्ट कम्पनी, युनिहोम इन्भेष्टमेन्ट कम्पनी, निर्धन उत्थान लघुवित्त लगायतका संस्थासँगै १७० जना व्यक्तिगत लगानीकर्ताको योगदान रहेको छ।
क्यापिटलले दुई वर्ष अघि नै साधारणसभाबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो र हाल यो प्रक्रिया अगाडि बढाउने तयारीमा छ। अब कम्पनी छिट्टै आईपीओ निष्काशन प्रक्रिया प्रारम्भ गर्ने अपेक्षा गरिएको छ।