धितोपत्र बोर्डको अध्यक्ष र नेप्सेको सिईओ बन्न दौडधुप, यी हुन् आकांक्षी


काठमाडौं–रिक्त रहेको नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)को नेतृत्व सम्हाल्न लबिङ सुरु भएको छ । अर्थ मन्त्रालयले नयाँ नियुक्तिका लागि प्रक्रिया अघि बढाएसँगै लबिङ सुरु भएको हो । 

नेपाल धितोपत्र बोर्डको रिक्त रहेको अध्यक्ष पदको पूर्तिका लागि सरकारले प्रक्रिया अघि बढाएको छ। सरकारले खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिद्वारा पदपूर्ति गर्न लागेको छ।
सरकारले तोकेको योग्यता भएका इच्छुक नेपाली नागरिकहरुले १५ दिनभित्र अर्थात कात्तिक २५ गतेभित्र अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारमा गोप्य शिलबन्दी आवेदन दिनु पर्नेछ ।
सर्वोत्तम सिमेन्टको शेयर अनधिकृतरुपमा आफ्ना परिवारका सदस्यको नाममा पास गरेको पाइएपछि बोर्डका तत्कालिन अध्यक्ष भीष्मराज ढुँगानालाई बर्खास्त गरिएको थियो भने नेप्सेका तत्कालिन सीईओ चन्द्रसिंह साउदले राजीनामा दिएका थिए । धितोपत्र बोर्ड अध्यक्ष तथा नेप्सेको सीईओ हुन विभिन्न व्यक्तिहरु अर्थमन्त्रीदेखि दलको नेतृत्वसम्म धाउने क्रम जारी छ । 


धितोपत्र बोर्ड र नेप्सेमा सत्ताधारी दल नेपाली काँग्रेस र अर्थमन्त्रीको पार्टी माओवादी केन्द्रको मुख्य दावी देखिन्छ । अर्थमन्त्री जनार्दन शर्मा सकेसम्म दुवै निकायमा आफ्नै पार्टीनिकटलाई नियुक्ति गर्ने अडानमा छन् । तर काँग्रेस एउटा आफूलाई चाहिने अडानमा छ । नेकपा एसले पनि दाबी प्रस्तुत गरेको छ ।


बोर्डको अध्यक्षका लागि माओवादी केन्द्रनिकट बोर्डका उपकार्यकारी निर्देशक डा. नवराज अधिकारी, एसबिआई मर्चेन्ट बैकिङ लिमिटेडका पूर्वसीईओ रमेश घिमिरे, बीमा समितिका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं रहेका छन् । त्यसैगरी, बोर्डको अध्यक्षको लागि बोर्डकै कार्यकारी निर्देशक निरज गिरी, नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशकद्वय डा. गोपाल भट्ट र शिवनाथ पाण्डेको नाम पनि चर्चामा छ । नेप्सेका पूर्वसीईओ सीताराम थपलियाले पनि बोर्ड अध्यक्ष बन्ने इच्छा देखाएका छन् । नेप्सेका तत्कालिन सीईओ चन्द्रसिंह साउद समेत बोर्ड अध्यक्ष बन्न इच्छुक देखिएका छन् । 

प्रतिक्रिया