नेपाल महिला यू–१९ टोली अष्ट्रेलियासँग ८३ रनले पराजित,समूह चरणबाट बाहिरियो

आईसीसी महिला यू–१९ विश्वकप क्रिकेटमा नेपाल अष्ट्रेलियासँग ८३ रनले पराजित भएको छ। मलेसियाको युकेएम वाइएसडी ओभल मैदानमा बुधबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले अष्ट्रेलियाद्वारा प्रस्तुत १४० रनको लक्ष्य पछ्याउने क्रममा २० ओभरमा ८ विकेट गुमाउँदै ५६ रनमै समेटियो।

नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक १८ रन बनाइन्, तर अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। अष्ट्रेलियाका जुलिटि मोर्टोन, लिली बासिङ्थवाइट, र हसरत गिलले समान दुई/दुई विकेट लिए।

पहिले ब्याटिङ गर्दै अष्ट्रेलियाले २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएको थियो। काइम्हे ब्रेले ३४ बलमा ४५ रनको योगदान दिँदै टोलीलाई बलियो स्थिति प्रदान गरिन्। इलियनर लारोसाले ३१ रन, हसरत गिलले ३० रन र क्लोइ क्याथरिनले अविजित १६ रन बनाएका थिए।

बलिङतर्फ नेपालकी पूजा महतोले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिइन्। सीमना केसीले २ विकेट र रिया शर्माले १ विकेटको योगदान गरिन्।

यो हारसँगै नेपाल विश्वकपको समूह चरणबाट बाहिरिएको छ। यसअघि नेपालले बङ्गलादेशसँग ५ विकेट र स्कटल्याण्डसँग १ विकेटले हार बेहोरेको थियो। अष्ट्रेलिया भने समूह चरणका सबै खेल जित्दै सुपर सिक्समा प्रवेश गरेको छ।

प्रतिक्रिया